Skip

Hamro Sanchar

अब धराहरा परिसरमा निःशुल्क पार्किङ सेवा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २ गते


२ चैत काठमाडौँ । काठमाडौँ महानगरपालिकाको व्यवस्थापनमा धरहरा क्षेत्रमा निर्माण भएको सवारी पार्किङ क्षेत्रलाई सञ्चालनमा ल्याइएको छ।

फागुन १० गतेदेखि नै महानगरले धराहरा क्षेत्रका पार्किङको व्यवस्थापन गरी सञ्चालनमा ल्याएको हो। २०८२ फागुन ९ गतेको मन्त्रिपरिषद्को बैठकले धराहरा क्षेत्रको सवारी पार्किङ व्यवस्थापन र सञ्चालनको जिम्मेवारी काठमाडौँ महानगरलाई दिने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार पार्किङको जिम्मेवारी महानगरपालिकाको नगर प्रहरी बलले सम्हालेको हो। काठमाडौँ महानगर प्रहरी बलका प्रमुखको विष्णुप्रसाद जोशीले शुरुवाती चरणमा पार्किङ क्षेत्र पर्याप्त रूपमा व्यवस्थित नभएको बताए।

महानगरले जिम्मेवारी लिएपछि आवश्यक सुरक्षा तथा पूर्वाधार सुधार गरेर पार्किङ क्षेत्र सञ्चालनमा ल्याएको उनले जानकारी दिए। उनकाअनुसार पार्किङ क्षेत्रमा पहिले अग्नि सुरक्षा उपकरणको अभाव थियो। पार्किङ क्षेत्र रहेको तीन वटा तलामा हाल प्रत्येक तलामा १० वटादरले ३० वटा अग्नि सुरक्षा उपकरण जडान गरिएको उनले जानकारी दिए।

उनकाअनुसार नौ वटा उपकरण भने पहिला नै जडान गरिएका थिए। पार्किङ क्षेत्रमा सवारीको सुरक्षाको लागि सिसिटिभी क्यामेरा समेत जडान गरिएको छ। सिसिटिभी क्यामेरा अझै थप गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

उनकाअनुसार धरहराको बेसमेन्ट पार्किङलाई बी–१, बी–२ र बी–३ गरी तीन भागमा विभाजन गरिएको छ। सबैभन्दा माथिल्लो तलामा रहेको बी–१ पार्किङमा १ सय २७ वटा चारपाङ्ग्रे सवारी साधन अट्ने क्षमता रहेको छ।

यस्तै, बी–२ मा करिव ७ सय वटा मोटरसाइकल पार्किङ गर्न सकिने उनले जानकारी दिए।

उनकाअनुसार यी दवै क्षेत्र सवारी साधनले दैनिक प्याक हुने गरेको छ। सबैभन्दा तल्लो तलामा रहेको बी–३ पार्किङमा भने हावाको प्रवाह ९एयर सर्कुलेसन०मा केही समस्या देखिएकोले त्यहाँ पार्किङको लागि केही समस्या भएको प्रमुख जोशीले जानकारी दिए।

उक्त तलामा १३५ वटा चारपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने क्षमता रहेको छ। उनले सवारीको अत्याधिक चाप भएको अवस्थामा भने उक्त तलामा पनि सवारीसधान पार्किङ गर्ने गरिएको उनले जानकारी दिए।

उनकाअनुसार अपाङ्गमैत्री पार्किङ स्थानको पनि व्यवस्था गरिएको छ। महानगरपालिकाले विशेषगरी वसन्तपुर, विशालबजार, धर्मपथ, पाको, खिचापोखरी, सुन्धारा र जमल क्षेत्रलाई लक्षित गर्दै धरहराको पार्किङ सञ्चालनमा ल्याएको हो।

ती क्षेत्रका फुटपाथ तथा सार्वजनिक सडकमा पार्किङ गर्न पूर्ण रूपमा रोक लगाइएको छ। महानगरकाअनुसार काठमाडौँ महानगरपालिका भित्रका वडा नम्बर १ देखि ३२ सम्म सार्वजनिक सडक तथा पेटीमा सवारी साधन पार्किङ गर्न पाइँदैन। नियम उल्लंघन गर्ने सवारी चालकलाई कानुनी कारबाहीको दायरामा ल्याइएको पनि महानगरले जनाएको छ।

उनले भने, ‘अहिले महानगरपालिका यो शहर क्षेत्रभित्रका विशेषगरी वसन्तपुर, विशालबजार, धर्मपथ, पाको, खिचापोखरी, सुन्धारा, जमल क्षेत्रलाई लक्षित गरेर पार्किङ संचालनमा ल्याएको हो। त्यो क्षेत्रमा हामीले पार्किङ निषेध गरेका छौँ, फुटपाथमा।’

नगर प्रहरी बलका प्रमुख जोशीकाअनुसार हाल धरहरा पार्किङ सेवा पूर्णरूपमा निःशुल्क राखिएको छ। नगर प्रहरी बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म खटिने गरेका छन्।

पार्किङ क्षेत्र भने बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सवारी साधन भित्र्याउनका लागि खुला रहनेछ भने त्यसपछि बाहिर निकाल्न मात्रै अनुमति दिइने व्यवस्था गरिएको उनले जानकारी दिए। हाल पार्किङ क्षेत्रमा दिनभरी सवारी पार्किङ गरेर राख्ने प्रवृत्ति देखापरेको प्रमुख जोशीले जानकारी दिए। उनकाअनुसार बिहान पार्किङ गरेर बेलुका मात्र निकाल्ने प्रवृत्ति देखिएको छ।

यसले सवारी पार्किङमा केही समस्या देखिएको उनको भनाई छ। आगामी दिनमा यसलाई सुधार गर्दै थप प्रभावकारी व्यवस्थापन गरिने उनले जानकारी दिए।

उनले सवारीसाधनको सुरक्षाको जिम्मेवारी भने सवारीधनी आफैँले लिनुपर्ने बताए। साथै सवारीसाधन पार्किङ गर्दा अरुलाई असहज नहुनेगरी गरिदिन पनि आग्रह गरे


प्रतिकृया दिनुहोस्