
काठमाडौँ । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ) मा फागुन महिनामा मात्रै ३१ लाख १० हजार रुपैयाँ भेटी सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार भक्तजनहरूले मन्दिरमा चढाएको उक्त रकम सङ्कलन गरिएको हो।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार मन्दिरमा चढाइएको भेटी नेपाल प्रहरीको रोहबरमा कर्मचारीहरूले सङ्कलन गर्ने गर्दछन्। सङ्कलित भेटीलाई सुरक्षित रूपमा लाहाछाप लगाएर फेदीसम्म ल्याइन्छ र त्यसपछि सदरमुकाम फुङ्लिङस्थित समितिको कार्यालयमा पुर्याइन्छ। संकलित रकमलाई प्रहरी र सिसीटिभीको निगरानीमा गणना गरी बैंकमा जम्मा गर्ने पारदर्शी व्यवस्था मिलाइएको समितिले जनाएको छ।
तथ्याङ्कअनुसार फागुन महिनामा मात्र १८ हजार ६५२ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन्। स्वदेश तथा विदेशबाट वर्षभरि नै हजारौँको सङ्ख्यामा तीर्थयात्रीहरू दर्शनका लागि आउने पाथीभरा पछिल्लो समय प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको छ।














