
काठमाडौँ । काठमाडौँ क्षेत्र नं. २ का उम्मेदवार कबिर शर्माले आज बिहान मूलपानीस्थित नेपाल राष्ट्र निर्माण माध्यमिक विद्यालय मतदान केन्द्रबाट आफ्नो मतदान सम्पन्न गरेका छन्। मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले लोकतन्त्रको यो महाकुम्भमा नागरिकको सहभागिताले नयाँ आशा जगाएको बताए।
सबै मतदान केन्द्रहरूमा मतदाताको उल्लेख्य उत्साह र उमङ्ग देखिएको उल्लेख गर्दै शर्माले यस पटक मतदाताले निकै सोच-विचार गरेर मात्र निर्णय लिने विश्वास व्यक्त गरेका छन्। उनले भने, “मतदाताहरूले कुनै पनि बहकाउ, ह्विम वा आग्रह-पूर्वाग्रहमा नलागी आफ्ना सन्तानको भविष्यका लागि विवेकको प्रयोग गरेका छन् र गर्नेछन् भन्नेमा म विश्वस्त छु।”
विशेषज्ञ नेतृत्वको प्रतीक्षा
नेपालको संसदीय इतिहासमा पहिलो पटक एक भूगर्भविद् (Geologist) लाई नीति निर्माणको तहमा पुर्याउने अवसरका रूपमा यस निर्वाचनलाई हेरिएको छ। युवा ऊर्जा र नवीन सोचसहित संसद् छिर्ने तयारीमा रहेका शर्माले संसद्मा विशेषज्ञताको उपस्थिति अनिवार्य रहेको जिकिर गरेका छन्।
उनले थपे, “मुलुकको सुन्दर भविष्य, शान्ति र समुन्नतिका लागि नवीन सोच भएका युवाको नेतृत्व आवश्यक छ। मतदाताहरूले एक योग्य र भिजन भएको प्रतिनिधिलाई चुनेर संसद्मा पठाउनेछन् भन्ने मेरो दृढ विश्वास छ।”
उम्मेदवार शर्माले सम्पूर्ण मतदाताहरूलाई संयमित भएर मतदान प्रक्रियामा सहभागी हुन र शान्तिपूर्ण रूपमा आफ्नो मताधिकार प्रयोग गर्न समेत अपिल गरेका छन्।













