
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर–२ मा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा जारी रहेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताको उल्लेख्य सहभागिता देखिएको छ।
निर्वाचन अधिकृत शान्ति न्यौपानेका अनुसार दिउँसो २ बजेसम्ममा यस क्षेत्रमा करिब ५० प्रतिशत मत खसिसकेको छ। सबै मतदान केन्द्रमा मतदान प्रक्रिया व्यवस्थित र शान्तिपूर्ण रूपमा भइरहेको उनले जानकारी दिइन्।
यस निर्वाचन क्षेत्रमा ८८ हजार ७०८ मतदाता रहेका छन्। मतदातालाई सहज रूपमा मतदान गर्नका लागि ४० वटा मतदान स्थल र १०० मतदान केन्द्र व्यवस्था गरिएको छ।
मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताको उपस्थितिसँगै लामो लाइन देखिएको छ। सुरक्षा व्यवस्था कडा बनाइएकाले हालसम्म कुनै अप्रिय घटना नघटेको निर्वाचन अधिकारीहरूले बताएका छन्।
प्रतिनिधिसभा निर्वाचनका लागि देशभर बिहान ७ बजेदेखि मतदान सुरु भएको हो, जसअन्तर्गत मतदाताले साँझ ५ बजेसम्म आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन्।













