
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा अग्रपंक्तिकी खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को उपचार तथा पुनर्स्थापनाका निम्ति डोभ नेपालले आर्थिक सहयोग गरेको छ ।
युनिलिभर नेपाल लिमिटेडअन्तर्गतको ब्रान्ड डोभले भण्डारीलाई घुँडाको गम्भीर चोटपछि स्वास्थ्यलाभका निम्ति १५ लाख रुपैयाँ सहयोग गरिएको जनाएको छ ।
हाल उपचार तथा स्वास्थ्य सुधारको प्रक्रियामा रहेकी भण्डारी चोटका कारण केही समय मैदानबाहिर रहनुपर्ने अवस्था आए पनि पुनरागमनको तयारीमा रहेको जनाइएको छ ।
नेपाली महिला फुटबलमा उल्लेखनीय योगदान पुर्याएकी भण्डारीको समर्पण, संघर्ष र उपलब्धिले देशभित्र मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत प्रेरणा दिएको भन्दै सहयोग गरिएको कम्पनीले जनाएको छ ।
डोभका अनुसार, उक्त सहयोग खेलाडीको उपचार खर्च व्यवस्थापनसँगै पुनर्स्थापनाको प्रक्रियामा साथ दिने उद्देश्यले गरिएको हो ।
कम्पनीले आत्मविश्वास र आत्मसम्मानलाई नै वास्तविक सौन्दर्यको आधार मान्ने आफ्नो अवधारणाअनुसार खेलाडीको पुनरागमन यात्रामा साथ दिन चाहेको उल्लेख गरेको छ ।











