
काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा नेपालले लगातार दोस्रो खेलमा पराजय भोग्दा इटालीले भने ऐतिहासिक जित निकालेको छ।
भारतको मुम्बईस्थित वानखेडे रंगशालामा बिहीबार इटालीले नेपालमाथि १० विकेटको ऐतिहासिक जित निकालेको हो।
टी-२० विश्वकपमा यो नेपालको अहिलेसम्मकै ठूलो हार हो। यसअघि नेपालले विश्वकपको खेलमा कहिल्यै १० विकेटले हार ब्यहोरेको थिएन।
पहिलो पटक विश्वकपमा प्रतिस्पर्धा गरेको इटालीले पहिलो जित निकालेको हो। यसअघि उसले पहिलो खेलमा स्कटल्यान्डसँग पराजय भोगेको थियो।
नेपाल भने समूहमा लगातार दुई खेलमा पराजित भएसँगै समूह चरणबाट बाहिरिने संघारमा पुगेको छ। अब नेपालले आइतबार वेस्ट इन्डिज र मंगलबार स्कटल्यान्डससँग खेल्दैछ। यी दुवै खेल जिते पनि नेपालको हातमा सुपर-८ पुग्ने समिकरण हुनेछैन।
आजको हारले नेपालले १२ वर्षपछि विश्वकपमा जित निकाल्ने लक्ष्य पूरा गर्न सकेन। सन् २०१४ मा अफगानिस्तानले हराएपछि नेपाल विश्वकपमा जितबिहीन छ।
नेपालमाथि सहज जित निकाल्ने क्रममा इटालीले १२४ रनको लक्ष्य १२.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो। उसले ४४ बल खेल्न बाँकी छदा लक्ष्य पूरा गरेको हो।
टालीका लागि जस्टिन मोस्काले नटआउट ६० रन र एन्थोनी मोस्काले नटआउट ६२ रन बनाए। जस्टिनले ४४ बलमा ५ चौका र ३ छक्का तथा एन्थोनीले ३२ बलमा ३ चौका र ६ छक्का प्रहार गरेका थिए।
उसका लागि मोस्का दाजुभाइले उत्कृष्ट ब्याटिङ गरे। नेपाली ब्याटरले संघर्ष गरेको पिचमा उनीहरूलै सजिलै रन प्रहार गरेका थिए। ६ ओभरको पावरप्लेमै ६८ रन बनाएपछि इटाली सहजै जिततिर अघि बढेको थियो। करण केसी र दीपेन्द्रसिंह ऐरीमाथि मोस्का दाजुभाइले आक्रामक ब्याटिङ गरेका थिए। त्यसपछि ललित राजवंशी र सन्दीप लामिछाने पनि प्रभावकारी हुन सकेनन्।
टस जितेको इटालीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालको सुरूवात सोचे जस्तो हुन सकेन। इटालीको स्पिन बलिङमा फस्दा नेपालले १९.३ ओभरमा १२३ रनमै अलआउट भयो। नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन जोड्न सके।
ओपनर कुशल भुर्तेल दोस्रो ओभरको अन्तिम बलमा अली हसनको बलमा जस्टिन मोस्काबाट कभरमा क्याच भए। त्यसअघि उनले पहिलो ओभरमा कुनै पनि रन जोड्न सकेका थिएनन्। नेपालले पहिलो ओभरमा वाइडबाट मात्र रन लिएको थियो। दोस्रो ओभरको पाँचौ बलमा हसनलाई चौका प्रहार गरे लगत्तै भुर्तेल आउट भए। त्यतिबेला नेपालले मात्र ८ रन जोडेको थियो।
त्यसपछि रोहित पौडेल ब्याटिङमा आएर नेपालको इनिङलाई गति दिए। जसका कारण नेपालले ६ ओभरको पावरप्लेमा एक विकेटको क्षतिमा ४६ रन जोड्यो।
सातौं ओभरको अन्तिम बलमा रोहित लङअनमा समातिए। १४ बल खेलेर २ चौका प्रहार गर्दै २३ रन जोडेका रोहितलाई क्रिशन कलुगामागेलाई पेभिलियनको बाटो देखाए।
लगत्तै अर्को ओभरमा नेपालले आसिफ शेखलाई पनि गुमायो। आसिफले स्टम पिन हुनुअघि २० रन जोड्न सके। उनले २० बलमा २ चौका प्रहार गर्न सके। रोहित आउट हुँदा ४९ रन जोडेको नेपालले आसिफ आउट हुनुन्जेल कुनै रन जोड्न सकेनन्। सुरुवातमा तीन विकेट गुमाएपछि केही दबाबमा परेको नेपाल १० ओभरमा ३ विकेटको क्षतिमा ६७ रनको स्थितिमा रह्यो। त्यसपछि दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले नेपालको इनिङलाई गति दिए।
दीपेन्द्रले आरिफसँग चौथो विकेटका लागि ४४ रनको साझेदारी गरे। कुनै चौका छक्का प्रहार गर्न नसकेका दीपेन्द्रले १४औं ओभरमा कलुगामागेबाट बोल्ड हुनुअघि १८ बलमा १७ रन जोड्न सके।
इंग्ल्यान्डविरूद्धको अघिल्लो खेलमा उत्कृष्ट ब्याटिङ गरेका लोकेश बम आज भने चल्न सकेन। उनी ३ रनमै आउट हुनु पुगे। उनलाई बेन मानेन्टीले बाउन्ड्रीमा क्याच गराएका थिए। यससँगै नेपालले १५ ओभर सकिदा ९७ रन जोड्यो भने आफ्ना महत्वपूर्ण पाँच विकेट गुमायो।
नेपालको विकेट जाने क्रम रोकिन सकेन। १६औं ओभरमा आरिफ शेख पनि बाउन्ड्रीमा क्याच हुन पुगे। जेजे स्मट्सको बलमा क्याच हुनुअघि आरिफले २७ रन जोडे। उनले २४ बल खेलेर ३ चौका प्रहार गर्न सके। अर्को ओभरमा गुल्सन झा आउट भए। उनलाई कलुगामागेले ३ रनमा क्याच गराए। यहि ओभरको एक बलपछि नन्दन यादव शून्यमा रनआउट भए। यसरी नेपालले पाँच बलमा तीन विकेट गुमायो भने निकै दबाबपूर्ण अवस्थामा रह्यो।
अन्तिम ओभरको पहिलो बलमा सन्दीप लामिछाने पाँच रनमा क्याच आउट भए। यस्तै तेस्रो बलमा ललित राजवंशी शून्यमा अलआउट भए। करण केसी ११ बलमा १ चौका र १ छक्काको मद्दतमा नटआउट १८ रन जोडे।
स्पिनर बेन मानेन्टीले १५ ओभरभित्र चार ओभर गर्दा नौ रन मात्र खर्चिएका थिए भने महत्वपूर्ण दुई विकेट लिए। उनी घातक सावित हुँदा नेपालमाथि दबाब परेको थियो। उनले कुनै चौका र छक्का दिएनन्। उनले १८ बलमा कुनै पनि रन दिएनन्।
देब्रे हाते स्पिनर कलुगामागेले पनि ३ विकेट लिए। उनले ४ ओभरमा १८ रन मात्र दिए। उनले पनि एक चौका मात्र दिएका थिए।
यसअघि समूहमा नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनको हार ब्यहोरेको थियो। इटाली पनि स्कटल्यान्डसँग पराजित भएको थियो। दुवै टोलीले आफ्नो पहिलो खेल गुमाएकाले आजको खेलमा जित महत्वपूर्ण थियो। नेपालले अब आइतबार वेस्ट इन्डिज र मंगलबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

















