
जनकपुरधाम । राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष एवं धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट उमेदवार रहेका राजीव कुमार झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
उनले रास्वपाका उमेदवार मनिष झालाई समर्थन गर्दै बुधबार रास्वपामा प्रवेश गरेका हुन् ।
झाले आफू लामो समयदेखि मधेसको राजनीतिमा सक्रिय रहेको भन्दै अहिले मधेसी प्रधानमन्त्री बन्ने अवसर सिर्जना भएकाले सहयोग गर्न लागेको बताए ।
आफ्नो तर्फबाट सक्दो सहयोग गर्न रास्वपाका उमेदवारलाई समर्थन गरेको उनले बताए । देश परिवर्तनको दिशामा अघि बढिसकेको भन्दै आफू त्यसको बाधक बन्न नचाहेको उनको भनाइ छ ।
यो क्षेत्रबाट ०७४ मा अहिलेको राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष रहेका राजेनद्र महतो (तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल) निर्वाचित भएका थिए ।
आगामी निर्वाचनमा यो क्षेत्रबाट नेपाली कांग्रेसका विमलेन्द्र निधि, नेकपा एमालेबाट जुली कुमारी महतो, रास्वपाबाट मनिष झा, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट परमेश्वर साहलगायत ४५ जना प्रतिस्पर्धामा छन्।

















