
काठमाडौं । नेदरल्यान्ड्सलाई पराजित गर्दै पाकिस्तानले भारत र श्रीलंकामा सुरु आइसीसी टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ।
श्रीलंकाको कोलोम्बोस्थित सिन्हालेस स्पोर्टस क्लब ग्राउण्डमा शनिबार भएको उद्घाटन खेलमा नेदरल्यान्डसलाई ३ विकेटले पराजित गर्दै पाकिस्तानले सुखद सुरुवात गरेको हो।
नेदरल्यान्ड्सले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले ३ बल अगावै ७ विकेटको क्षतिमा भेट्टायो।
पाकिस्तानको जितमा ओपनर साहिवजादा फरहानले सर्वाधिक ४७ रनको योगदान दिए।
फहिम असरफ २९ रनमा अविजित रहे। सैम अयुब २४, बाबर अजाम १५ र कप्तान सलमान आगा १२ रनमा पेभेलियन फर्के।
नेदरल्यान्ड्सका लागि आर्यन दुत र पाउल भान मिकेरेनले समान २ विकेट लिए।
त्यसअघि पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्यान्ड्स १ बल अगावै १ सय ४७ रनमा अलआउट भयो।
नेदरल्यान्ड्सका कप्तान स्कट इडवार्डस्ले सर्वाधिक ३७ रन बनाए। बास डे लिडले ३०, माइकल लेविटले २४ र कोलिनले २० रन थपे।
पाकिस्तानका सलमान मिर्जाले ३ विकेट लिए। मोहम्मद नवाज, अवरार अहमद र सैम अयुवले समान २ विकेट आफ्नो नाममा गरे।
विश्वकपमा आज शनिबार नै वेष्ट इन्डिज र स्कटल्यान्ड तथा भारत र अमेरिका खेल्नेछन् ।

















