
काठमाडौं । कप्तान रोहित पौडेलको उत्कृष्ट अर्धशतकको मद्दतमा नेपालको पुरुष क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप २०२६ को तयारीका क्रममा भारतको एमसीए प्रेसिडेन्ट ११ विरुद्धको पहिलो अभ्यास टी-२० खेलमा जित हासिल गरेको छ।
बिहीबार मुम्बईको ब्राबोर्न स्टेडियममा भएको उक्त खेलमा नेपालले ७ विकेटको सहज जित निकालेको हो।
एमसीए प्रेसिडेन्ट ११ ले दिएको १४३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो। कप्तान रोहित पौडेलले ४३ बलमा ५० रनको अविजित इनिङ खेले।
यस्तै, ओपनर कुशल भुर्तेलले २१ बलमा ३८ रन जोडे भने दीपेन्द्र सिंह ऐरीले २२ बलमा २८ रन तथा आसिफ शेखले १७ बलमा १६ रन बनाए।
टस हारेर पहिले ब्याटिङ गरेको एमसीए प्रेसिडेन्ट ११ ले २० ओभरमा ९ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो।
उनीहरूका लागि सिद्धार्थ आकरेले सर्वाधिक २८ रन तथा परिक्षित वलसंकरले २७ रन बनाए।नेपालका बलरहरूबाट नन्दन यादवले २ विकेट लिए भने शेर मल्ल, दीपेन्द्र सिंह ऐरी, गुलशन झा र कुशल भुर्तेलले समान १-१ विकेट हात पारे।
नेपालले यही टोलीसँग शनिबार दोस्रो अभ्यास खेल खेल्नेछ। विश्वकपको अन्तिम तयारीका लागि नेपाली टोली मुम्बईमा छ। श्रीलंकाको ए टोलीसँग तीन अभ्यास खेल खेलेपछि मुम्बईमा पुगेको नेपाली टोलीले त्यहाँ एक साता अभ्यास गर्नेछ।
विश्वकपअघि नेपालले पहिलो वार्म अप खेल माघ २० गते युएईसँग र दोस्रो खेल क्यानडासँग माघ २२ मा खेल्नेछ। दुवै खेल चेन्नईको एमए चिदाबरम रंगशालामा हुनेछ । यी खेलपछि नेपाली टोली फेरि मुम्बई फर्कनेछ।
यसपटकको विश्वकपमा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन्।
नेपालले पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ मा (माघ २५) खेल्नेछ। अन्तिम खेल स्कटल्यान्डसँग फेब्रुअरी १७ (फागुन ५) मा हुनेछ। नेपालका चारै खेलमा मुम्बईमा हुनेछन्। समूहमा शीर्ष दुईमा परेमा सुपर-८ मा पुग्ने सम्भावना हुनेछ।
नेपाली टोली
रोहित पौडेल (कप्तान) र उपकप्तान दीपेन्द्र सिंह ऐरी (उपकप्तान) सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम।
नेपाल रहेको समूह सी
इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड, इटाली, नेपाल
नेपालको विश्वकपमा खेल
नेपाल भर्सेस इंग्ल्यान्ड, ८ फेब्रुअरी (माघ २५), दिउँस ३ बजे, मुम्बई
नेपाल भर्सेस इटाली, १२ फेब्रुअरी(माघ २९), दिउँस ३ बजे, मुम्बई
नेपाल भर्सेस वेस्ट इन्डिज, १५ फेब्रुअरी (फागुन ३), विहान ११ बजे, मुम्बई
नेपाल भर्सेस स्कटल्यान्ड, १७ फेब्रुअरी (फागुन ५), राति ७ बजे, मुम्बई

















