Skip

Hamro Sanchar

काठमाडौं- २, प्रतिनिधि सभा सदस्यका उमेदवार कुन्ती देवी पोखरेलको घरदैलो, स्थानीय समस्या सुन्दै समाधानको प्रतिबद्धता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ८ गते


काठमाडौँ, माघ ०८- काठमाडौँ महानगरपालिका–३२ अन्तर्गत पेप्सिकोला क्षेत्रमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार कुन्ती देवी पोखरेलले आज घरदैलो कार्यक्रम सञ्चालन गरेकी छन्।

घरदैलोका क्रममा पोखरेलले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको दैनिकीसँग गाँसिएका समस्या, आवश्यकता र अपेक्षाबारे ध्यानपूर्वक जानकारी लिएकी थिइन्। सडक, ढल, खानेपानी, फोहोर व्यवस्थापन, सुरक्षा तथा युवा रोजगारीका विषयमा स्थानीयले राखेका गुनासो र सुझावलाई उनले टिपोट गर्दै समाधानका लागि सक्रिय पहल गर्ने प्रतिबद्धता जनाइन्।

स्थानीय बासिन्दाले विकास निर्माणमा भइरहेको ढिलाइ, अव्यवस्थित शहरीकरण तथा आधारभूत सेवाको अभावप्रति ध्यानाकर्षण गराउँदै प्रभावकारी र जवाफदेही प्रतिनिधित्वको आवश्यकता औँल्याएका थिए। त्यस अवसरमा पोखरेलले जनताको भावना र अपेक्षाअनुसार काम गर्ने स्पष्ट धारणा व्यक्त गर्दै भनिन्, “जनताको विश्वास र सहभागितामै व्यवस्था बलियो हुन्छ। स्थानीय तहदेखि केन्द्रसम्म जनमुखी र जवाफदेही शासन प्रणाली स्थापना गर्नु मेरो प्रमुख प्राथमिकता हो।”

घरदैलो कार्यक्रममा विभिन्न उमेर समूहका नागरिकको उल्लेख्य सहभागिता रहेको थियो। स्थानीयले पोखरेलको सरल, सुन्ने र बुझ्ने शैलीको प्रशंसा गर्दै आगामी दिनमा सकारात्मक परिवर्तनको अपेक्षा व्यक्त गरेका छन्।

उक्त घरदैलो कार्यक्रमसँगै काठमाडौँ–३२ पेप्सिकोला क्षेत्रमा चुनावी गतिविधि थप सक्रिय बन्दै गएको देखिएको छ।


प्रतिकृया दिनुहोस्