Skip

Hamro Sanchar

डडेलधुराबाट नैनसिंह महरको उम्मेदवारी : देउवाको विरासत र समृद्धिको संकल्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ७ गते


काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसका नेता नैनसिंह महरले डडेलधुराबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

मनोनयन दर्ता गराउँदै महरले आफूलाई नेपाली राजनीतिका निष्ठावान नेता तथा अभिभावक शेरबहादुर देउवाको राजनीतिक उत्तराधिकारी र जनसेवकका रूपमा प्रस्तुत गरेका छन्।

उनले यस निर्वाचनलाई दशकौँको बलिदानीबाट प्राप्त संविधानको रक्षा र पूर्ण कार्यान्वयनको जनमतसंग्रहको रूपमा व्याख्या गर्दै सुदूरपश्चिमको स्वाभिमान र सिङ्गो देशको रूपान्तरण गर्ने ऐतिहासिक दायित्व बोकेको बताएका छन्।

मनोनयन दर्ताको अवसरमा महरले डडेलधुराको ऐतिहासिक माटोबाट उम्मेदवारी दिन पाउनुलाई गहिरो गौरव र जिम्मेवारीबोधको क्षण बताएका छन्।

उनले नेपालका प्रथम महिला मन्त्री द्वारिकादेवी ठकुरानी, मुक्ति क्रान्तिका नायक किशान नेता भिमदत्त पन्त र लोकतन्त्रवादी योद्धा एनडीप्रकास चटौत लगायत अग्रज पुस्ताले कोरेको लोकतान्त्रिक मार्गलाई अझ फराकिलो बनाउने प्रतिबद्धता व्यक्त गरे।

महरले आजको समयले समाजमा ८८ प्रश्न नउठ्ने चरित्रु र निष्ठाको राजनीति खोजिरहेको औँल्याए। उनले राज्यको पहुँचभन्दा टाढा रहेका सिमान्तकृत वर्गलाई मूलधारमा ल्याउने स्पष्ट खाका र प्रविधिमैत्री विश्व परिवेशमा हुर्किएको नवपुस्ता तथा जेन्जीुका नविनतम आकांक्षाहरूलाई सम्बोधन गर्न सक्ने भिजनरी नेतृत्व आजको अपरिहार्य आवश्यकता भएको दाबी गरे। उनको उम्मेदवारी यही आवश्यकता र अपेक्षा पूरा गर्ने विनम्र प्रयास भएको उनले स्पष्ट पारे।

लोकतन्त्रको सुन्दर पक्ष भनेकै स्वस्थ प्रतिस्पर्धा र जनमतको कदर भएको बताउँदै महरले देशभर मनोनयन दर्ता गराउनुहुने सम्पूर्ण लोकतन्त्रवादी उम्मेदवार मित्रहरूलाई हार्दिक शुभकामना व्यक्त गरे। उनले राजनीतिलाई नितान्त समाज सेवा र राष्ट्र निर्माणको निरन्तर यात्राको रूपमा परिभाषित गर्दै सबैलाई लोकतन्त्रको जगलाई बलियो बनाउन र जनताको विश्वास जित्न संकल्पित हुन आग्रह गरे।

महरले निर्वाचनलाई जित र हारको प्राविधिक विषयभन्दा माथि लोकतान्त्रिक संस्कारको उच्च प्रदर्शन गर्ने अवसरको रूपमा लिनुपर्नेमा जोड दिए। उनले सम्पूर्ण सरोकारवाला, मतदाता र शुभेच्छुकहरूमा आसन्न निर्वाचनलाई स्वच्छ, मर्यादित र निष्पक्ष बनाउन हार्दिक आग्रह गरे।

अन्तमा, अग्रजहरूको विश्वासिलो उत्तराधिकारीका रूपमा आफूले काँधमा बोकेको यो विश्वासको भारीलाई डडेलधुराबासीको अपार स्नेह र आशीर्वादले नै गन्तव्यमा पुर्‍याउनेमा आफू पूर्ण विश्वस्त रहेको महरले बताए। उनले सभ्य राजनीतिको अभ्यास गर्दै समृद्धिको यात्रामा हातेमालो गर्न र समयले खोजेको परिवर्तन संस्थागत गर्न आह्वान गर्दै लोकतन्त्रनै उन्नत विकल्प हो र उन्नत लोकतन्त्रनै हाम्रो प्रतिबद्धता हो भन्ने सन्देश दिए।

 

 


प्रतिकृया दिनुहोस्