Skip

Hamro Sanchar

सभापति / प्रधानमन्त्री पदले मलाई लोभ्याउँदैन : शेखर कोइराला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २७ गते


काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफ्नो निजी महत्त्वाकांक्षा केही नभएको बताएका छन् ।

पार्टीको सभापति, देशको प्रधानमन्त्रीजस्ता पदले आफूलाई नलोभ्याउने उनले उल्लेख गरेका छन् ।

आइतबार ९पुस २७० सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियो सन्देशमार्फत उनले पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका हुन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आयोजित विशेष महाधिवेशनको उद्घाटनअघि सार्वजनिक भिडियोमार्फत उनले कांग्रेस नियमसम्मत प्रक्रियाबाट चलोस् भन्नेमा आफू संघर्षरत रहेको बताएका छन् ।

“मैले कांग्रेसभित्र पुस्तान्तरण र हस्तान्तरणको अभियान नै चलाएँ । धेरै युवा साथीहरू मसँग जोडिए । म सधैँ कांग्रेस विधि, विधान र नियमसम्मत प्रक्रियाबाट चलोस् भन्नेमा संघर्षरत रहेँ,” उनले भनेका छन् ।

कांग्रेसको रूपान्तरण अभियानमा आक्रोश र अधैर्य भएर अगाडि बढ्न आफूले नचाहएको उनले बताएका छन् । “मेरो लड्ने तरिका शान्त र मधुरो थियो । मेरो कैयन् शैलीहरूसँग साथीहरू असहमत भएको म बुझ्थेँ,” उनले भनेका छन्, “तर पनि म कांग्रेसको रूपान्तरण अभियानमा आक्रोश र अधैर्य भएर अगाडि बढ्न चाहिनँ ।”

आफूले कांग्रेसको समग्र एकताको पक्षमा शान्त रूपमा आवाज उठाइरहेको उनले बताएका छन् । “मेरो निजी महत्त्वाकांक्षा केही छैन । मलाई मन्त्री, महामन्त्री हुने लोभले विगतका कहिल्यै आकर्षित गरेन,” उनले भनेका छन्, “यस्ता अवसरहरू आए, तर मैले रुचि देखाइनँ । त्यस्तै, सभापति, प्रधानमन्त्री हुने कुराले मलाई लोभ्याउँदैन ।”

कांग्रेसको रूपान्तरणका क्रममा आफूले पार्टी संस्थापन र युवा दुवैसँग लड्नु परिरहेको उनको भनाइ छ ।

एकताबद्ध पार्टी कसरी निर्माण गर्न सकिन्छ भन्ने ऐतिहासिक दायित्व निर्वाह गर्न उनले विशेष महाधिवेशन प्रतिनिधिलाई आग्रह समेत गरेका छन् ।

“आदरणीय महाधिवेशन प्रतिनिधि साथीहरू तपाईंहरू पार्टीको धरोहर हुनुहुन्छ । तपाईंहरू विधिको प्रभावकारिता, नीतिको सान्दर्भिकता स्थापित गर्ने पवित्र उद्देश्यका साथ काठमाडौं आउनुभएको छ । पार्टीको विधानको कार्यान्वयन गर्ने संकल्प गर्दै हुनुहुन्छ,” उनले भनेका छन्, “त्यस विषयमा समग्र कांग्रेसको हित र एकताबद्ध पार्टी कसरी निर्माण गर्न सकिन्छ भन्ने ऐतिहासिक दायित्व निर्वाह गर्न समेत त्यति नै सक्षम हुनुहुन्छ भन्ने मेरो गहिरो विश्वास छ ।”

उनले अगाडि भनेका छन्, “मेरो दृढ विश्वास छ, एकताबद्ध भएर अगाडि बढ्न सकिन्छ । र, यो जय नेपालको नाराको गुन्जनबाट मात्र सम्भव छ भन्ने मलाई लाग्छ ।”


प्रतिकृया दिनुहोस्