
काठमाडौं । भारतलाई १ सय ९१ रनले हराउँदै पाकिस्तानले एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको उपाधि जितेको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा रहेको आईसीसी एकेडेमी मैदानमा पाकिस्तानले दिएको ३ सय ४८ रनको लक्ष्य पछ्याएको भारतले २६ ओभर २ बलमा १ सय ५६ रन बनाउँदा सबै विकेट गुमायो । भारतका दीपेश देवेन्द्रनले सबैभन्दा धेरै १६ बलमा ३६ रन बनाए । पाकिस्तानका अली राजाले ४ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ४७ रन बनायो । पाकिस्तानका समीर मिन्हासले ११३ बलमा १७२ रन बनाए । यस्तै अहमद हुसेनले ५६ रन बनाए । भारतका दीपेश देवेन्द्रनले ३ विकेट लिए ।
पाकिस्तानले दोस्रो पटक एसीसी १९ वर्षमुनिको एशिया कपको उपाधि जितेको हो । यसअघि पाकिस्तान सन् २०१२ मा भारतसँग संयुक्त रूपमा विजेता बनेको थियो ।
सेमिफाइनलमा भारतले श्रीलङ्कालाई र पाकिस्तानले बङ्गलादेशलाई हराउँदै फाइनलमा पुगेका थिए । भारत र पाकिस्तान एउटै समूहमा थिए । समूह चरणको खेलमा भारतले पाकिस्तानलाई ९० रनले हराएको थियो ।
एसीसी १९ वर्षमुनिको एशिया कपमा नेपालले पनि सहभागिता जनाएको थियो । एउटा पनि खेल नजितेको नेपाल समूह चरणबाटै बाहिरियो । प्रतियोगितामा आठ वटा टोली सहभागी थिए ।


















