
विराटनगर । फागुन २१ का लागि मिति तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसले कृष्णप्रसाद सिटौलाका छोरालाई उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।
नेपाली कांग्रेस प्रतिनिधि सभा ३ नम्बर क्षेत्रीय समिति झापाले सिटौलाका छोरा श्यामप्रसाद सिटौलाको नाम उम्मेदवारको रुपमा सिफारिस गरेको हो । उनी अहिले तरुण दलका केन्द्रीय सदस्य हुन् ।
जिल्लामा खासै सक्रिय नदेखिएका सिटौलाको नाम उमेदवारको रुपमा सिफारिस भएपछि झापा कांग्रेस दुई भागमा विभाजन भएको छ । केहिले नेताका छोरा राजनीतिमा आउनु राम्रो भएको बताएका छन् । उनीहरूले नेताका छोराहरूले पार्टीमा योगदान पुर्याएका छन् भने उनीहरूलाई परिवारसँग जोडेर हेर्न नहुने दावी गरेका छन् ।
असन्तुष्ट समुहले भने बाबुका कारण पार्टीमा आउनु परिवार वाद भएको आरोप लगाउदै आएका छन् । यस अघि झापा क्षेत्रनम्बर ३ बाट पटक पटक कृष्ण सिटौला कांग्रेसका तर्फबाट उममेदवार बन्दै आएका थिए । सिटौला ७४ र ७९ को प्रतिनिधि सभाको निर्वाचनमा राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए ।
आसन्न निर्वाचनमा भने नेपाली काङ्ग्रेसका प्रभावशाली नेता सिटौलाको भने यस पटक उम्मेदवारको रुपमा नाम सिफारिस भएका छैनन् । आफू उम्मेदवारको रुपमा अघि नसारी सिटौलाले छोरालाई अघि सारेको कांग्रेस झापाका नेताहरूले बताएका छन् ।
सो क्षेत्रबाट श्यामको अतिरिक्त टीकाराज ढकाल, सीताराम खड्का, राजेन्द्र घिमिरे, देउप्रसाद लावुङ लिम्बू, नवीन विमली, भगिरथ पोद्धार, शर्मिला अधिकारीको पनि नाम सिफारिस भएको छ । यस्तै झापा क्षेत्र नम्बर २ बाटा पनि संविधान सभा सदस्य सुधीर सिवाकोटीका छोरा सजेस शिवाकोटीले नाम उमेदवारको रुपमा सिफारिस भएको छ । उनी भने विभिन्न सामाजिक सङ्घ संस्थामा सक्रिय रहँदै आएका छन् ।


















