Skip

Hamro Sanchar

सिमरा अपडेट :  बजार क्षेत्र तनावग्रस्त, जेनजी प्रदर्शनकारी र प्रहरीबीच झडप,  फेरि लगाइयो कर्फ्यू

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ४ गते


काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको झडपका कारण अशान्त बाराको सिमरा बजार आज पनि तनावग्रस्त बनेको छ ।

आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ नपरेको भन्दै जेनजी युवाले सिमरा बजार क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । बजार क्षेत्रमा ठूलो संख्यामा युवाको उपस्थिति रहेको छ ।

सडकमा टायर बालेर यातायात अवरुद्ध पार्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको छ । झडपमा परेर दुवैतर्फका केही घाइते भएका छन् ।

झडपको क्रममा युवाहरूले प्रहरीमाथि ढुंगाइँट्टा प्रहार गरेपछि प्रहरी पछि हटेको छ ।

हिजोको घटनामा जेनजी युवालाई कुटपिट गर्नेहरूलाई प्रहरीले कारबाही नगरेको भन्दै आज प्रदर्शन गरेको जेनजी प्रदर्शनकारीको भनाइ छ । प्रहरीले भने कुटपिटमा संलग्न दुईजनालाई पक्राउ गरेर अदालतबाट म्याद थपको प्रक्रिया अगाडि बढाइसकेको बताएको छ ।बप्रदर्शनकारीले भने पक्राउ परेकालाई सिमरा चोकमा ल्याउनु पर्ने माग गर्दै नारावाजी गरिरहेका छन्

यस्तै  जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज पनि  कर्फ्यू आदेश जारी गरेको छ ।

बाराको सिमरामा जेनजीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू लगाएको हो ।

वीरगञ्ज-पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्का पुलसम्म राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ ।

यसअघि बुधबार नेकपा एमालेका कार्यकर्ता र जेनजीहरूबीच झडप भएको थियो । झडपका कारण सिमरा बजार क्षेत्र तनावग्रस्त बनेको थियो । एमाले नेता महेश बस्नेत बारा जाने कुरालाई लिएर दुई पक्षबीच विवाद भएको थियो । स्थिति थप बिग्रन नदिनका लागि स्थानिय प्रशासनले हिजो पनि सिमरा क्षेत्रमा कर्फ्यू लगाएको थियो ।


प्रतिकृया दिनुहोस्