Skip

Hamro Sanchar

नेपालमा उच्च शिक्षाको प्रमुख गन्तव्य सामुदायिक क्याम्पस : शैलेन्द्र कुइँकेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १८ गते


काठमाडौं, कात्तिक १८- नेपालको उच्च शिक्षा प्रणालीमा सामुदायिक क्याम्पसहरूले निर्वाह गरेको भूमिका अत्यन्तै महत्वपूर्ण, ऐतिहासिक र सामाजिक दृष्टिले प्रभावशाली छ । नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका आगिक क्याम्पसहरूमा विद्यार्थीको चाप अत्याधिक बढेपछि वि.स २०३६/३७ सालतिर विश्वविद्यालयले आफ्ना प्राध्यापकहरूलाई प्रोत्साहन दिई सामुदायिक क्याम्पसहरू स्थापना गर्न प्रेरित गयो । यसले उच्च शिक्षाको पहुँचलाई विकेन्द्रित गर्दै ग्रामीण तथा पिछडिएको क्षेत्रका विद्यार्थीहरूलाई शिक्षाको अवसर प्रदान गर्ने बाटो खोल्यो । सामुदायिक क्याम्पसहरू स्थानीय जनताको श्रम, पूँजी, र नेतृत्वमा आधारित संस्थाहरू हुन्, जसले शिक्षा मात्र होइन, सामाजिक रूपान्तरण, आर्थिक सशक्तिकरण र स्थानीय नेतृत्व विकासमा पनि योगदान पुयाएका छन् ।

आजको दिनमा नेपालमा उच्च शिक्षा प्रदान गर्ने विभिन्न प्रकारका संस्था छन विश्वविद्यालयका आगिक क्याम्पसहरू, जुन विश्वविद्यालय आफैले सञ्चालन गर्ने गर्दछ, सामुदायिक क्याम्पस र निजी क्याम्पसहरू भनेका यस्ता क्याम्पसहरू हुनु जुन क्याम्पसहरूले विश्वविद्यालयबाट उच्च शिक्षाको कार्यक्रमहरूको सम्बन्धन लिई सम्पूर्ण खर्च आफै गरी विश्वविद्यालयको कार्यक्रमहरू सञ्चालन गर्ने गर्दछन् भने यसमा पनि सामुदायिक क्याम्पसहरूले सञ्चालन गर्न समुदायलाई आहान गरी जनसहभागितामा विशेष प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गर्ने गर्दछ जसकारण विद्यार्थीहरूलाई सर्वसुलभ रूपमा पठन पाठन गर्न मद्दत गर्दछ र सामुदायिक क्याम्पसहरू दूरदराजसम्म जहाँ शिक्षाको आवश्यकता छ त्यहाँसम्म फौलिएको छ भने निजी क्याम्पसहरू शहरी क्षेत्र जहाँ सम्पूर्ण सेवा सुविधा छन् । त्यस ठाउँमा मात्र स्थापना नाफामूलक संस्थाका रूपमा उच्च शिक्षामा हियोग गरिरहेका छन् त्यसैले पनि सामुदायिक क्याम्पसहरू विद्यार्थीहरूको रोजाईमा पर्ने गरेका छन् र त्यस बाहेक पनि विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसहरू शहरी क्षेत्रमा स्थापना भई राखेका छन् । यी मध्ये सामुदायिक क्याम्पसहरू विशिष्ट छन् किनभने तिनीहरू समुदायकै सहभागिता र स्वामित्वमा गैरनाफामूलक संस्थाको रूपमा सञ्चालन हुन्छन् ।

हाल नेपालका ७७ जिल्लामध्ये ७५ जिल्लामा करिब ६०० सामुदायिक क्याम्पसहरू रहेका छन्, जसमा तराई क्षेत्रमा ३५.३५ प्रतिशत, पहाडी क्षेत्रमा ५४.४ प्रतिशत, र हिमाली क्षेत्रमा ५.२५ प्रतिशत क्याम्पसहरू रहेका छन् । यी क्याम्पसहरू देशका दुर्गम र पहुँचविहीन क्षेत्रसम्म फैलिएका छन्, जसले शिक्षा पहुँचको समावेशीकरणमा उल्लेखनीय योगदान पुयाएका छन् ।

सामुदायिक क्याम्पसहरू विशेषतः गरिब, पिछडिएका वर्ग, दलित, जनजाति, महिला तथा अन्य शिक्षाको पहुचबाट वञ्चित वर्गका विद्यार्थीहरूलाई लक्षित गरी स्थापना गरिएका हुन् । तिनीहरूले स्थानीय स्रोत, साधन, र नेतृत्वको प्रयोग गरी शिक्षा प्राप्त गर्छन् । सामुदायिक क्याम्पसको मूल उद्देश्य भनेको समुदायकै सहभागितामा गुणस्तरीय, सुलभ र सस्तो उच्च शिक्षा उपलब्ध गराउनु हो । यसले शिक्षा मात्र होइन, सामाजिक न्यायको अभ्यासलाई व्यवहारमा उतार्ने माध्यम बनेको छ । त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरूले समग्र उच्च शिक्षा प्रणालीमा ३८.६ प्रतिशत हिस्सा ओगटेका छन्, जुन आँकडा आफैंमा सामुदायिक क्याम्पसको प्रभाव र पहुँचको प्रमाण हो । यद्यपि सामुदायिक क्याम्पसहरूको योगदान उल्लेखनीय छ, तिनीहरूले विभिन्न चुनौतीहरूको सामना गरिरहेका छन् ।

विश्वविद्यालयहरूले विषय थप, नियमित अनुगमन, र अन्य सेवा सुविधाहरू प्रदान नगर्दा शिक्षण सिकाइको गुणस्तरमा असर परेको छ । कतिपय क्याम्पसहरूमा जग्गाको स्वामित्वमा समस्या, आयकर विभागबाट स्थायी लेखा नम्बर (PAN) उपलब्ध गर्न कठिनाइ, र प्रशासनिक जटिलताहरूले क्याम्पस सञ्चालनमा अवरोध पुऱ्याएका छन् । यस्ता समस्याका बाबजुद पनि सामुदायिक क्याम्पसहरूले विश्वविद्यालय अनुदान आयोग (UGC) का कार्यक्रमहरू, प्रदेश सरकारका शैक्षिक कार्यक्रम, र स्थानीय तहबाट प्राप्त सानो सहयोगका माध्यमबाट उच्च शिक्षामा योगदान दिइरहेका छन् ।

सामुदायिक क्याम्पसहरूमा शिक्षण सिकाईमा गुणात्मक सुधार ल्याउनका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूले सहयोग पुयाउँदै आएका छन् । कतिपय क्याम्पसहरूले गुणस्तर प्रत्यायन (QAA) प्राप्त गरेका छन्, जसले तिनीहरूको शैक्षिक मापदण्ड उच्च रहेको प्रमाणित गर्छ । सामुदायिक क्याम्पसहरूमा स्थानीय शिक्षक, अभिभावक, समाजसेवी, र विद्यार्थीहरूको सक्रिय सहभागिता रहने भएकाले तिनीहरू शिक्षा प्रणालीप्रति उत्तरदायी र पारदर्शी पनि हुन्छन् । यसले शिक्षा क्षेत्रलाई केवल शहरी सीमितता वा आर्थिक हैसियतमा आधारित बनाउने प्रवृत्तिलाई चुनौती दिँदै, सबैका लागि शिक्षा भन्ने अवधारणालाई व्यवहारमा उतारेका छन् ।

कक्षा १२ पछि उच्च शिक्षाको सही गन्तव्यको रूपमा सामुदायिक क्याम्पसहरू स्थापित हुँदै गएका छन् । तिनीहरूले स्थानीय जनताको आवश्यकताअनुसार विषयवस्तु, पाठ्यक्रम र शिक्षण पद्धति विकास गर्ने अवसर पाएका छन् । साथै, सामुदायिक क्याम्पसहरूले रोजगारमुखी शिक्षा, प्रविधिमैत्री शिक्षण, र अनुसन्धानको प्रवर्द्धनमा पनि ध्यान दिन थालेका छन् । यसले विद्यार्थीहरूलाई केवल प्रमाणपत्रधारी बनाउने होइन, व्यावसायिक र सामाजिक रूपले सक्षम बनाउने लक्ष्यमा केन्द्रित बनाएको छ ।
अन्तमा, सामुदायिक क्याम्पसहरू नेपालको उच्च शिक्षा प्रणालीको मेरूदण्ड हुन् । तिनीहरूले शिक्षा पहुँचको समावेशीकरण, सामाजिक न्याय र स्थानीय सशक्तिकरणमा योगदान पुऱ्याउँदै आएका छन् । आगामी दिनहरूमा यिनको भूमिका अझ सशक्त बनाउन नीति निर्माण, स्रोत व्यवस्थापन, प्रविधिको प्रयोग, र गुणस्तरमा सुधार आदिमा विशेष ध्यान दिन आवश्यक छ । सामुदायिक क्याम्पसहरूलाई सुदृढ बनाउने कार्य केवल शिक्षा क्षेत्रको विकास मात्र होइन, समग्र राष्ट्र निर्माणको आधार हो । कक्षा १२ पछि उच्च शिक्षाको सही गन्तव्यको रूपमा सामुदायि क क्याम्पसहरूलाई प्रोत्साहन गर्नु, तिनीहरूको संरचना सुदृढ गर्नु, र नीति तथा बजेटमा प्राथमिकता दिनु आजको आवश्यकता हो । यसले नेपाललाई समावेशी, सशक्त र शिक्षित राष्ट्र बनाउने दिशामा थप गति दिनेछ ।
लेखक नेपाल पब्लिक क्याम्पस संघ बागमती प्रदेश अध्यक्ष,  शैलेन्द्र कुईकेल


प्रतिकृया दिनुहोस्