
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–७, हरहरमहादेवस्थित शिवम् मार्गी एकीकृत महिला समाजको दोस्रो वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ।
विभिन्न सामाजिक सेवामा सक्रिय समाजले नगरप्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यमा वार्षिक उत्सव कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा प्रमुख अतिथि कार्कीले समाजले स्थापना कालदेखि गर्दै आएका सामाजिक तथा रचनात्मक गतिविधिको प्रशंसा गर्दै शिवम् मार्गी एकीकृत महिला समाज नगरपालिकाकै उत्कृष्ट महिला समाज भएको उल्लेख गरे।
नगरप्रमुख कार्कीले स्थानीय सरकारको सबैभन्दा तल्लो इकाइ टोल सुधार समिति भएको स्मरण गराउँदै टोल–टोलको विकासबाटै वडा र नगरको समग्र विकास सम्भव हुने बताए। साथै, समाजले भविष्यमा सञ्चालन गर्ने कार्यक्रमहरूमा नगरपालिकाको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा समाजकी अध्यक्ष गीता अर्याल ज्ञवालीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सामाजिक तथा मानवीय सेवासँगै महिलाको समग्र विकासका लागि संस्था निरन्तर सक्रिय रहँदै आएको जानकारी गराइन्।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर-२ का सभापति कबिर शर्मा, वडा नम्बर–७ का कार्यवाहक अध्यक्ष भक्त थापा, गान्धी आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गयाप्रसाद उपाध्याय, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समाजले स्थापना भएको दुई वर्षको अवधिमा सम्पन्न गरेका गतिविधिहरू समेटिएको डकुमेन्ट्रीसमेत प्रस्तुत गरिएको थियो। जसमा निःशुल्क आँखा परीक्षण, निःशुल्क स्त्रीरोग विशेषज्ञ परामर्श, सरसफाइ अभियान, वृक्षारोपण, योग साधना केन्द्र स्थापना लगायतका रचनात्मक कार्यहरू समावेश थिए।
कार्यक्रमको सञ्चालन सचिव बिमला श्रेष्ठले गरेकी थिइन् भने स्वागत मन्तव्य कार्यसमिति सदस्य सुनिता शाही कोइरालाले व्यक्त गरेकी थिइन्। टोलमा हाल एक सयभन्दा बढी घरपरिवार बसोबास गर्दै आएका छन्।






















