
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाले उपभोक्तालाई सुरक्षित तथा स्वस्थकर खाद्य वस्तु उपलब्ध गराउने उद्देश्यका साथ बजार अनुगमनलाई तीव्र बनाएको छ। गत बुधबारदेखि सुरु गरिएको अनुगमन नगरपालिकाका सबै ९ वटै वडामा क्रमशः सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।
अनुगमनका क्रममा वडा नम्बर ९ अन्तर्गत रहेका दुई वटा पानी उद्योग, करिब दुई दर्जन मासु पसल तथा विभिन्न खाद्य स्टोरहरूमा निरीक्षण गरिएको थियो। निरीक्षणका क्रममा अधिकांश मासु पसलहरू सरकारी मापदण्ड विपरीत तथा लापरबाहीपूर्वक सञ्चालन भइरहेको पाइएको छ। कतिपय पसलहरूमा गुणस्तरहीन, बासी तथा पचेको मासु बिक्री भइरहेको भेटिएपछि सम्बन्धित व्यवसायीहरूलाई तत्काल सुधार गर्न ७ दिने समयसीमा दिइएको छ।
यसैगरी केही डेरी उद्योगहरूको समेत अनुगमन गरिएकोमा तिनको अवस्था सामान्य रहेको पाइएको छ। दर्ता बिना सञ्चालनमा रहेका केही पसलहरूलाई भने ७ दिनभित्र अनिवार्य रूपमा दर्ता प्रक्रियामा आउन निर्देशन दिइएको छ।
अनुगमन कागेश्वरी मनोहरा नगरपालिका र खाद्य तथा गुण नियन्त्रण विभागका अधिकृतहरूले संयुक्त रूपमा सञ्चालन गरेका हुन्। नगरपालिकाले तोकिएको समयभित्र सुधार नगर्ने व्यवसायीमाथि कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ।
यस्तै आजपनि वडा नम्बर-८ का विभिन्न मासु पसल, दुध डेरी तथा खाद्यान्न स्टोरहरुमा अनुगमन गरिएको छ।
नगरपालिकाका अनुसार आगामी दिनमा समेत नियमित र कडाइका साथ बजार अनुगमनलाई निरन्तरता दिइनेछ।

















