
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौं–२ क्षेत्रको प्रतिनिधिसभा निर्वाचनमा मणिराम फूयाँललाई उम्मेदवार घोषणा गरेको छ।
शनिबार बसेको पार्टीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी (काठमाडौं–२) को बैठकले उनको एकल नाम सिफारिस गरेको हो। बैठक संयोजक महेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।
मणिराम फूयाँलले यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि काठमाडौं–२ बाट उम्मेदवारी दिएका थिए। त्यस समय उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमसँग झिनो मतान्तरले पराजित भएका थिए।
यस निर्णयले क्षेत्रभर नयाँ प्रतिस्पर्धा र राजनीतिक गतिविधि तीव्र बनाउन सक्ने अनुमान छ।
यस क्षेत्रमा काठमाडौँ महानगरपालिका–९ र ३२ तथा कागेश्वरी मनोहरा नगरपालिका– ४, ५, ६, ७, ८ र ९ वडाहरु पर्छन् । जसमध्ये कांग्रेसले काठमाडौँ महानगरको ९ र यस क्षेत्रमा पर्ने कागेश्वरी मनोहराको २, ५, ७, ८ र ९ वडामा विजयी भएको छ । त्यस्तै एमाले काठमाडौँ महानगरको ३२ र कागेश्वरी मनोहराको वडा नम्बर- ४ मा विजयी भएको छ ।
राजनीतिक विश्लेषकहरूले फूयाँललाई “स्थानीय समस्यामा संवेदनशील जननेता” को रूपमा चिन्छन्। उनी विशेषगरी सामाजिक न्याय, नागरिक अधिकार र शहरी विकासजस्ता मुद्दामा आवाज उठाएर आएका छन्।
यसपटक फूयाँललाई फेरि उम्मेदवार बनाएर एमालेले २०७९ को “लगभग जित” लाई अन्तिम विजयमा परिणत गर्ने प्रयास गरेको देखिन्छ। तर, काठमाडौं–२ मा नेपाली कांग्रेस, रास्वपा, नेकपा र नयाँ शक्तिको पनि प्रबल उपस्थिति रहेको छ, जसले अबको निर्वाचनलाई अझै अधिक रोचक बनाएको छ।

















