Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नगरप्रमुख कार्कीद्धारा सोमतिर्थ प्रवेशद्धारमा ऐतिहासिक फल्चा उद्घाटन 

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १९ गते


Advertisement

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले वडा नम्बर–७ स्थित सोमतिर्थ मन्दिरको प्रवेशद्धारमा निर्माण गरिएको ऐतिहासिक फल्चाको उद्घाटन गर्नुभएको छ।

नगरपालिकाको सहयोगमा १५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त फल्चाको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख कार्कीले धार्मिक सम्पदा कहिल्यै नमासिने दीर्घकालीन सम्पत्ति भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “सडक, बाटो र अन्य भौतिक संरचना आज बनायो भोलि भत्किन सक्छन्, तर धार्मिक सम्पदा कहिल्यै मासिँदैनन्। यस्ता सम्पदाहरू दीर्घकालीन र पुस्तौँसम्म हस्तान्तरण हुने खालका हुन्छन्।”

सुन्दर नगर बनाउने नीतिअनुसार नगरपालिकाले काम गर्दै आएको उल्लेख गर्दै उहाँले सोही नीतिअनुसार फल्चा उद्घाटन गरिएको बताउनुभयो। साथै, यसै वडामा थप तीन वटा फल्चा निर्माणको प्रक्रिया अगाडि बढिरहेको जानकारी पनि दिनुभयो।

नगरपालिकाले मठ–मन्दिर, पाटी–पौवा, कला, संस्कृति तथा ऐतिहासिक सम्पदाहरूको संरक्षण, संवर्द्धन र पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाइरहेको नगर प्रमुख कार्कीले स्पष्ट पार्नुभयो।

कार्यक्रममा स्थानीयबासी तथा समाजसेवी शंकर थापाले स्वागत मन्तव्य दिँदै सोमतिर्थ मन्दिरको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराउनुभयो। उहाँका अनुसार वि.सं. २०५१ सालमा उत्खनन गर्ने क्रममा प्रताप मल्लको पालामा निर्माण गरिएका मूर्तिहरू फेला परेका थिए। ती मूर्तिहरूलाई व्यवस्थित रूपमा संरक्षण गर्दै हाल सोमतिर्थ मन्दिरका रूपमा स्थापना गरिएको हो।

थापाले सोमतिर्थ मन्दिरको इतिहास करिब ३५१ वर्ष पुरानो रहेको उल्लेख गर्दै उत्खननका क्रममा विभिन्न शिलापत्रहरू पनि फेला परेको जानकारी दिनुभयो।

कार्यक्रमको समापन गर्दै कार्यवाहक वडाअध्यक्ष भक्त थापाले दिवंगत वडाअध्यक्ष भीमसेन थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभयो। उहाँले स्वर्गीय थापाले अघि सारेका तथा आफूहरूले गर्ने लक्ष्य राखेका फल्चा निर्माण, पार्क निर्माणलगायत विकास तथा संरक्षणसम्बन्धी कार्यहरू निरन्तर रूपमा अघि बढाइने बताउनुभयो।


प्रतिकृया दिनुहोस्