
काठमाडौं । कागेश्वरीले मनोहरा नगरपालिकाले बाग्मती प्रदेशकै उत्कृष्ट महिला तेक्वान्दो खेलाडी सम्पदा शिवाकोटीलाई नगदसहित सम्मान गरेको छ । पालिकाले शुक्रबार एक कार्यक्रमको आयोजना गरि नगरबासीसमेत रहेकी शिवाकोटीलाई नगद २५ हजार ५ सय ५५ रुपियाँ सहित सम्मानपत्रले सम्मान गरेको हो ।
बिजेता शिवाकोटीलाई नगरप्रमुख उपेन्द्र कार्की, उप-प्रमुख शान्ता थापा, काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, नेपाल तेक्वान्दो संघ बागमती प्रदेश अध्यक्ष केशव पुरी, शिक्षा तथा युवा तथा खेलकुद शाखा प्रमुख पुष्पराज ढकाललगायतले नगद पुरस्कार र सम्मानपत्र वितरण गरेका हुन् ।
नेपाल तेक्वान्दो संघ बागमती प्रदेश र बुढानिलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा गल्फुटारमा भएको प्रतियोगितामा शिवाकोटीले महिलातर्फ ४०-४३ केजी तौल समुहमा प्रतिस्पर्धा गरेकी हुन् । उनले प्रथम बागमती लिगमा स्वर्ण र उत्कृष्ट महिला खेलाडीको पद हासिल गर्दै १५ अंक प्राप्त गरिन् भने दोश्रो बागमती लिगमा रजक पदक प्राप्त गरि १९ अंक जोड्न सफल भईन् । यसैगरी तेश्रो बागमती लिगमा स्वर्ण र उत्कृष्ट उपाधी प्राप्त गरेर १५ अंक गरिन् भने चौथो तथा फाइनल लिगमा दोश्रो भै ११ अंक जोडेर कुल ४५ अंक प्राप्त गर्दै बागमती प्रदेशकै उत्कृष्ट महिला तेक्वान्दो खेलाडी घोषित भएकी हुन् ।
उक्त प्रतियोगितामा शिवाकोटीले बाग्मती प्रदेशका १३ जिल्लाका ११९ पालिकाका झन्डै २१० प्रतिस्पर्धीलाई उछिन्दै इलेक्ट्रोनिक स्कुटर जित्न सफल भएकी हुन् ।
शिवाकोटी कागेश्वरी वडा नम्बर-७ स्थित बिरेन्द्र चोकमा रहेको सुर्यचन्द्र तेक्वान्दो डोजाङकी खेलाडी हुन् ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कार्कीले खेलाडी शिवाकोटीलाई सम्मान गर्न पाउँदा निकै खुशी भएको बताए । शिवाकोटी जस्ता खेलाडी कागेश्वरीका सान भएकाले खेलका माध्यमबाट नगरपालिकाको नाम उच्च राख्ने कार्य गरेकाले खेलाडी उनलाई सम्मान गरिएको नगरप्रमुख कार्कीले बताए । नगरप्रमुख कार्कीले भने, ‘शिवाकोटी जस्ता खेलाडी कागेश्वरीका सान् हुन् । गौरव तथा राष्ट्रका गहनाहरूलाई सम्मान गर्न पाउँदा अत्यन्त खुसी लागेको छ । प्रतिभावान् खेलाडीको मनोबल उच्च राख्नका लागि यस्ता कार्यक्रमले सघाउ पुर्याउँछ ।’
आगामी दिनमा पनि खेल जगतमा हुने क्रियाकलापमा नगरपालिकाले निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै तेक्वान्दो बाहेक विभिन्न विधामा कीर्तिमान राख्ने तथा पदक जित्ने पालिकाभित्रका अन्य खेलाडीहरूलाई उज्जल भविष्यको शुभकामना दिए ।
यस्तै नगरप्रमुख कार्कीले शिवाकोटीले अन्तर्राष्ट्रिय खेल खेल्न विदेश जानु पर्ने अवस्था आएको खण्डमा पालिकाले आवतजावत टिकट व्यहोर्ने घोषणा पनि गरे ।
नगरपालिकाले खेल मैदान बनाएर प्रतिभावान् युवालाई खेलप्रतिको आकर्षण बढाउन आफुहरुले स्पोर्टस सिटी (खेलकुद नगरी)को रुपमा विकास गर्दै आइरहेको जानकारी दिए ।
कार्यक्रममा प्रशिक्षकलाई पनि ५ हजार ५ सय ५५ रुपियाँ नगदसहित सम्मान गरिएको थियो ।





















