Skip

Hamro Sanchar

साफ यू २० च्याम्पियनसिप : नेपाल आज बंगलादेशसँग खेल्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २९ गते


ढाका । साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले घरेलु टिम बंगलादेशसँग खेल्दैछ। नेपाल र बंगलादेशबिचको खेल नेपाली समयअनुसार ६:४६ मा बसुन्धरा किङ्स एरिनामा सुरु हुनेछ।

साविक विजेता रहेको बंगलादेश यो प्रतियोगितामा नेपालको लागि सबैभन्दा बलियो प्रतिस्पर्धी हो। २०२३ मा नेपाल र बंगलादेशले यो फर्म्याटको प्रतियोगितामा खेलेका थिए। जसमा लिग चरणको खेलमा नेपाल ३-१ ले पराजित भएको थियो। फाइनल खेलमा नेपाल बंगलादेशसँग ३-० को हार बेहोर्दै घर फर्किएको थियो।

सन् २०२२ यता सिनियर महिला टिम र कुनै पनि उमेर समूहको खेलमा नेपालले बंगलादेशलाई हराउन सकेको छैन। त्यस अर्थमा पनि आजको खेल नेपालका लागि पछिल्लो ३ वर्ष यताको इतिहास पल्टाउने मौका हुन सक्नेछ।

सिनियर टिमका खेलाडीले भरिपूर्ण रहेको हालको यू-२० बंगलादेशी टिम प्रतिस्पर्धाको बलियो टिमको रुपमा हेरिएको छ ।

बङ्गलादेशले पहिलो खेलमा श्रीलंकालाई ९-१ ले पराजित गरेको थियो। नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले हरायो। नेपालका लागि पहिलो खेलमा पूर्णिमा राईले ह्याट्रिक सहित चार गोल गरेकी थिइन्। त्यस्तै सेनु परियारले २ गोल गरिन्।

डबल राउन्ड रोबिनमा भएको जारी प्रतियोगितामा लिगमा उत्कृष्ट प्रदर्शन गर्ने टिमले नै उपाधि जित्नेछ।

नेपाली टोली

बिर्सना चौधरी (कप्तान), लीला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला के।सी।, अस्मिता गुरुङ, सेनु परियार, कुसुम खतिवडा, शुक्रिया मियाँ, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर ।


प्रतिकृया दिनुहोस्