
काठमाडौं, असार १६- कागेश्वरी मनोहरा नगरपाली वडा नम्बर-६ मा अवस्थित श्री राष्ट्रिय निर्माण माध्यमिक विद्यालयले २०८१ सालको एसइई परीक्षामा सामेल भएर उत्कृष्ट अंकसहित उतिर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
विद्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।
परीक्षामा ५४ जना विद्यार्थी सहभागी रहेका थिए । जसमध्ये ३.६ देखि ४ जिपिए ४ जनाले ल्याउन सफल भएका छन् । भने ३.२० देखि ३.६० जिपिए २० जनाले ल्याएका छन् । यस्तै २.८० देखि ३.२० जिपिए २४ जना, २.४० देखि २.८० जिपिए एक जनाले ल्याएका छन् । परिक्षामा ५ जनाले एनजी (अनुतिर्ण) ल्याएका छन् ।
प्राप्त नतिजाअनुसार राष्ट्रिय निर्माणले ९०.७४ प्रतिशत नतिजा ल्याएर सामुदायिक विद्यालयतर्फ नगरपालिकाकै तेश्रो स्थान हासिल गर्न सफल भएको छ ।
नतिजाअनुसार सामुदायिक विद्यालयतर्फ नगरपालिकाको वडा नम्बर-१ स्थित श्री सिद्धि गणेश मावि प्रथम भएको छ भने थोरै अंकले वडा नम्बर-२ को बाल विकास मावि दोश्रो भएको छ ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष तथा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रकाश फुयालले अनेकौं कठिनाईका बीचमा पनि शिक्षक र विद्यार्थीको प्रयासमा विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको बताए । उनले विद्यालयमा कम्पुटर, ल्याव, पुस्तकालय, भौतिक पूर्वाधार, क्यान्टिनको राम्रो प्रबन्धलगायत सबै कुरामा सुबिधा सम्पन्न भएकाले विद्यार्थीले पढ्ने र नतिजा ल्याउने कुरामा तल्लिन हुनुपर्ने बताए ।
यसैबर्ष विद्यालयमा ७ वटासम्म स्मार्ट बोर्ड राख्ने तयारी भैरहेको जानकारी दिँदै अध्यक्ष फुयालले विद्यालयलाई आर्थिक रुपमा र ब्यबस्थापकीय रुपमा सबल र सक्षम बनाउन तत्कालै लाग्ने बताए ।
त्यस्तै प्रधानाध्यापक अप्सरा पाठकले एसइईको नतिजाको विश्लेषण गर्दै हरेक विद्यार्थीको क्षमतालाई आकंलन गरेर शिक्षण गरेको कारण प्रत्येक विद्यार्थीको उत्कृष्ट नतिजा सम्भव भएको उल्लेख गरिन् । उनले एसइईमा प्राप्त गरेको नतिजालाई कायम गर्दै थप शैक्षिक प्रगति गरेर देशको सेवा गर्नुपर्ने बताइन् । उनले विद्यालयमा कक्षा १२ सम्म न्यूनतम शुल्कमा गुणस्तरीय र अनुभवी तालिम प्राप्त शिक्षकहरुले अध्ययन अध्यापन गराउने भएकाले अन्यत्र विज्ञापनको लहैलहैमा नलागी यसै विद्यालयमा भर्ना भएर अध्ययन गर्न अनुरोध गरिन् ।




















