
काठमाडौं, असार १३- कागेश्वरी मनोहरा नगरपालिकाले ‘मेरो दोश्रो अभिभावक’ अभियान संचालन गरेको छ । अभिभावक जेलमा परेका, बुबाआमाविहीन भएका, अभिभावकले दोस्रो विवाह गरेर बालबालिकालाई अलपत्र पारेका, कुमारी आमाबाट जन्मिएका, आर्थिक रूपले विपन्न भएर विद्यालय बाहिर रहेका तथा शिक्षा लिन आर्थिक अभाव खेपिरहेका बालबालिकालाई लक्षित गरेर ‘मेरो दोश्रो अभिभावक’ अभियान संचालनमा ल्याएको हो ।
यहाँभित्र संचालनमा रहेका बिशेष गरि सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको केहि समाजसेवीहरुले अभिभावकत्व ग्रहण गरिरहेका बखतमा शिक्षा शाखाले अभियान नै संचालन गरेर यस्तो अभियानको सुरुवात गरेको हो ।
बिहिबार नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा भएको पालिका घोषणा गरिएको छ । सो कार्यक्रममा नगरप्रमुख उपेन्द्र कार्कीले भिभावकत्व ग्रहण गरेका १० जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेका छन् भने उप-प्रमुख शान्ता थापाले ५ जनाको अभिभावकत्व ग्रहण गरेकी छन् ।
अभिभावकत्व ग्रहण गरेका विद्यार्थीको न्यूनतम स्टेशनरी, पोसाक र दिवा खाजालगायत प्रबन्ध गरिदिनु पर्नेछ । एक जना बच्चाको अभिभावकत्व ग्रहण गर्न एक वर्षको करिब ७ हजार देखि १० हजार रुपैयाँ भए पुग्ने देखिन्छ । यद्यपि यो सामुदायिक स्कुलको अनुमानित खर्च मात्र हो ।
शिक्षा शाखा प्रमुख पुष्पराज ढकालकाअनुसार ‘मेरो दोश्रो अभिभावक’ (my second guardain) कार्यक्रम संचालन अन्तर्गत हालसम्म ३ सय ६९ बालबालिकाको अभिभावकत्व ग्रहण भैसकेको छ भने कार्यक्रमबाट ९ सय बालबालिकाले प्रत्यक्ष लाभ लिने लक्ष्य लिइएको छ ।
शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् भनी नगरपालिकाले उक्त अभियान मार्फत अभिभावकत्व ग्रहण गर्दै साहाराविहीन बालबालिकालाई साहारा दिएको नगरप्रमुख कार्कीले बताए ।
“शिक्षा प्राप्त गर्नु व्यक्तिको मौलिक तथा नैसर्गिक अधिकार हो । शिक्षा अधिकारमा आधारित हुनुपर्छ । अधिकारमा आधारित शिक्षाको अवधारणाले सबैका लागि, सबै किसिम र सबै तहको शिक्षा सधैंभरि जुनसुकै अवस्थामा पनि उपलब्ध हुनुपर्छ भन्ने मान्यता राख्दछ ।’ प्रमुख कार्कीले भने, “शिक्षा बालबालिकाको भविष्य उज्यालो पार्ने स्वर्णीम बाटो हो, त्यसैले कुनैपनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भनी यस्तो प्रयास गरेका हौँ ।”
आफुहरु निर्वाचित भएदेखि नै शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताए । यस्तै प्रमुख कार्कीले बालबालिकाहरुको भविष्य निर्माणको जिम्मा आफुहरुको भन्दै नगरपालिकामा ६३ जना अपाङ्ग बालबालिका र अन्य केहि अटिजम भएका बालबालिका रहेकाले यसै आर्थिक बर्षमा त्यसका लागि रकम छुट्याएर ‘डे केयर’ एजुकेशन सेन्टर संचालन गर्ने घोषणा गरे ।
नगरपालिकाले गरेका एनजी उन्मूलन अभियान, मेरो दोश्रो अभिभावक (my second guardain) कार्यक्रम, रातो बंगला स्कूलको साझेदारी कार्यक्रम (RBPOP) सार्थक बाल सिकाइ कार्यक्रम संचालन गरिरहेको छ ।
मेरो दोश्रो अभिभावक अभियान संचालन गर्ने सम्भवतः काठमाडौं जिल्लामै पहिलो नगरपालिका हो । नगरपालिकाले अभिभावकविहीन बालबालिकाको संरक्षकत्व गरेकामा स्थानीय बासिन्दा पनि खुसी भएका छन् ।
यो पनि पढ्नुहोस्- कागेश्वरी मनोहरा अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित नगरपालिका घोषणा


















