Skip

Hamro Sanchar

कागेश्वरी मनोहरा अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित नगरपालिका घोषणा

९ हजार बढी बालबालिका लाभान्वित हुने

प्रदिप नेपाली प्रकाशित : २०८२ असार, १२ गते


काठमाडौं, असार १२- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा भएको पालिका घोषणा गरिएको छ । शिक्षाका ‘क्याडर’का रुपमा चिनिएका युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्सालको प्रमुख आतिथ्य तथा शिक्षा विकास निर्देशनालय बागमती प्रदेशका महानिर्देशक खुविराम अधिकारी, शिक्षा तथा मानव श्रोत विकासका निर्देशक डा. श्याम प्रसाद आचार्य र शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका प्रमुख समन्तमणि आचार्यको बिशेष आतिथ्यमा बिहिबार नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षापालिका घोषणा गरिएको हो ।

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ अनुसार कार्यक्रम अन्तर्गत चारदेखि १४ वर्ष उमेरसमूहका सबै बालबालिका विद्यालय भर्ना भई विद्यालयको पहुँचमा पुगेको हुनुपर्ने छ । कार्यक्रम अन्तर्गत विद्यालय भर्ना भएका विद्यार्थीलाई नगरपालिकाले आवश्यक सहयोग गरेकै छ तर पनि विद्यालयहरुले भर्ना वापत, परीक्षा शुल्क वा अन्य बहानामा घुमाइफिराइ पैसा लिईरहेका छन् । अब अनिवार्य तथा निःशुल्क शिक्षा नगरपालिका घोषणा भएसँगै विद्यार्थीबाट कुनैपनि बहानामा रकम लिन नपाउने नगरप्रमुख उपेन्द्र कार्की बताउछन् ।

नगरपालिका १५ वटा सामुदायिक विद्यालय छन् । ती विद्यालयमा अध्ययनरत करिब ९ हजार बढी बालबालिका लाभान्वित हुने भएका छन् ।

कार्यक्रममा बोल्दै नगरप्रमुख कार्कीले सबै बालबालिकालाई शिक्षाको ज्योति पुर्याउने अभियानमा सहभागी सबैलाई धन्यवाद व्यक्त गरे । बालबालिकालाई देशको भविष्यका रुपमा चित्रण गर्दै उनले असल समाज निर्माणको एउटा चरण पुरा भएको बताए । उनले दिगोपना चुनौतीपूर्ण रहेको भएपनि सबैको प्रयासले निरन्तरता दिन सफल हुने विश्वास व्यक्त गरेका छन् । उनले अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित नगर घोषणा असामान्य कार्य भएको बताए । आफुहरु निर्वाचित भएदेखि नै शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउदै प्रमुख कार्कीले सबै बालबालिकाहरुका लागि नगरपालिका उतिकै जिम्मेवार भएर लागेको बताए ।

यस्तै प्रमुख कार्कीले बालबालिकाहरुको भविष्य निर्माणको जिम्मा आफुहरुको भन्दै नगरपालिकामा ६३ जना अपाङ्ग बालबालिका र अन्य केहि अटिजम भएका बालबालिका रहेकाले यसै आर्थिक बर्षमा त्यसका लागि बजेट छुट्याएर ‘डे केयर’ एजुकेशन सेन्टर संचालन गर्ने प्रमुख कार्कीले घोषणा समेत गरे ।

कार्यक्रममा प्रमुख अतिथि लम्सालले कागेश्वरी मनोहरामा आएर निःशुल्क शिक्षा भएको पालिका घोषणा जस्तो पुण्य कार्यमा सरिक हुन पाउँदा खुसी लागेको बताए ।

समाजलाई बदल्न चाहनेले पहिले परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्ने बताउँदै सचिव लम्सालले गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले गरेका एनजी उन्मूलन अभियान, मेरो दोश्रो अभिभावक (my second guardain) कार्यक्रम, रातो बंगला स्कूलको साझेदारी कार्यक्रम (RBPOP) सार्थक बाल सिकाइ कार्यक्रमको प्रशंसा गरेका थिए । अभाव र समस्याकाबीच हामीले राम्रो गर्न सक्नुमा नै हाम्रो सामर्थ्य देखिने बताउँदै उनले नगरपालिकाले गरेका यस्ता रचनात्मक र परिणाममुखी काममा सदैव आफ्नो साथ रहने प्रतिबद्धता जनाए ।

अनिवार्य तथा निःशुल्क शिक्षा भएको पालिका घोषणा कार्यक्रममा अतिथिलगायत उपप्रमुख शान्ता थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा शिक्षा सँग सरोकारवाला ब्यक्तित्वहरुले हस्ताक्षर गरेका छन् ।

यस्तै नगरपालिकाले आर्थिक अवस्था कम्जोर रहेका विद्यार्थी लक्षित ‘मेरो दोश्रो अभिभावक’ (my second guardain) कार्यक्रम संचालन गरिरहेको छ । शिक्षा शाखा प्रमुख पुष्पराज ढकालकाअनुसार यस कार्यक्रमबाट ९ सय बालबालिका लाभान्वित हुने लक्क्ष रहेको छ । भने हालसम्म ३ सय ६९ बालबालिका यस कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।


प्रतिकृया दिनुहोस्