
काठमाडौं, असार ५- तपाई हाम्रो गाउँवस्ती, वडा, गाउँपालिका तथा नगरपालिकालाई खुला दिसामुक्त गरेपछि सफा र स्वच्छ चरण हुँदै पूर्ण सरसफाइयुक्त घोषणा त गर्दै आएका छौं तर विद्यालयलाई पूर्ण सरसफाइ घोषणा गरेको नहोला ?
अब विद्यालयलाई पनि पूर्ण सरसफाइ घोषणा गर्ने नयाँ अवधारणा आएको छ । यो नमुनाको रुपमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ मा अवस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले अवलम्बन गर्न थालेको छ ।
यसलाई सात झण्डे पूर्ण सरसफाइ कार्यक्रम नामाकरण गरिएको छ । विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई खेल तथा मनोरञ्जनका माध्यमबाट पूर्ण सरसफाइमा समाहित गराउने विधिलाई सात झण्डे पूर्ण सरसफाइ कार्यक्रम भनिन्छ ।
कार्यक्रमलाई नेपाल सरकार खानेपानी तथा ढल ब्यबस्थापन बिभाग र WHO ले प्राविधिक सहयोग गरेको थियो ।
सात झण्डे पूर्ण सरसफाइ कार्यक्रम सञ्चालनका लागि सातै चरण हुन्छन् ।
विद्यालयमा अध्ययनरत बालबालिकाको सात समूह गठन गरिएको थियो । हरेक समूहको क्याप्टेन, उप क्याप्टेन छनौट गरिएको थियो । हरेक समूहले एक एक वटा सूचकको प्रतिनिधित्व गरेका थिए ।
जस्तै : एउटा समूहले सफा चर्पीको प्रयोगको अवस्थालाई प्रतिनिधित्व गरेका थिए भने दोस्रो समूहले हात धुने र व्यक्तिगत सरसफाइको अवस्था, एवं रीतले तेस्रो समूहले महिनावारी धारणा, स्वच्छता र सरसफाइ, चौथो समूहले विद्यालयमा खानेपानी तथा सरसफाइ । यस्तै पाँचौं समूहले विद्यालयमा पानीको पर्याप्त मात्रा, सुरक्षित मुहानको पानी, प्रशोधित पानी जस्ता पक्षको विश्लेषण । छ्रैटौं समूहले सुरक्षित खानाको अवस्थाको, सातौं समूहले सफा वातावरणको प्रतिनिधित्व गरेका थिए ।
यी सबै समूहलाई सरसफाइ प्रतिकका रुपमा फरक फरक रङको झण्डा दिइएको थियो ।
यी सबै समूहलाई गीतमार्फत सचेतनामुलक प्रस्तुतिसहित प्रतिस्पर्धा गराइएको थियो । जसमा प्रथम हुनेलाई नगद पाँच हजार पुरस्कार वितरण गरिएको थियो ।
नगरप्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश फुयालको अध्यक्षतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको हो ।


















