
रुपन्देही । नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले प्रधानमन्त्रीको भूमिका प्रभावकारी हुन नसकेको बताएका छन् ।
दुई ठूला राजनीतिक शक्तिहरू मिलेर बनेको सरकारले जनताका गुनासालाई अपेक्षाकृत रूपमा सम्बोधन गर्न नसकेको भन्दै कांग्रेस नेता महतले प्रधानमन्त्रीले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु पर्ने बताए ।
प्रेस युनियन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता महतले सडकमा चलिरहेको शिक्षक आन्दोलन, गभर्नर नियुक्ति सुशासन कायम लगायतका विषयमा प्रधानमन्त्रीले सन्तुलन मिलाउन नसकेको, समन्वय र सहकार्य नगरेको उनको आरोप छ ।
कांग्रेस नेता महतले सक्षम योग्य र अर्थतन्त्रलाई मार्ग निर्देश गर्ने गभर्नर नियुक्त हुनुपर्ने पक्षमा नेपाली कांग्रेस रहेको भन्दै प्रधानमन्त्रीकै कारण गभर्नर नियुक्तिमा विलम्ब भएको बताए।
सरकारले चाहेअनुसार काम गर्न नसक्दा जनतामा निराशा बढेको भन्दै नेता महतले राजनीतिक नेतृत्वले अनावश्यक आश्वासन बाँड्दै हिँड्न नहुने पनि बताए ।
एक अर्को प्रसङ्गमा बोल्दै नेता महतले सहकारीमा साना बचतकर्ताको रकम अपचलन भएको भन्दै सम्बन्धित व्यक्तिबाटै असुलउपर गरी बचतकर्तालाई बचत फिर्ता गर्ने काममा सरकार लाग्नुपर्ने बताए ।
पूर्वराजाले शक्ति आफ्नो हातमा लिने र मनोमानी गर्न खोजेकै कारण गणतन्त्र आएको स्मरण गर्दै नेता महतले पुनः राजा फर्काउन सम्भव नभएको प्रष्ट पारेका छन् ।

















