Skip

Hamro Sanchar

प्रधानमन्त्री ओली र देउवाबीच २ घण्टा वार्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, १४ गते


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार भेटवार्ता भएको छ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा राति करिब २ घण्टा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए।

नेताहरुले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको पनि पौडेलको भनाइ छ।

सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलका साथै गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।

देउवा थाइल्यान्डको ब्यांककबाट फर्किएपछि उनीहरुबीच पहिलोपल्ट भेटवार्ता भएको हो।

परराष्ट्रमन्त्री आरजु राणासहित देउवा थाइल्यान्ड भ्रमण (वैशाख ८-१२) बाट शुक्रबार फर्किएका थिए।

कांग्रेसले सरकारको साथ छाड्न लागेको हल्ला चलेपछि ओलीले यसअघि देउवा थाइल्यान्डमै हुँदा टेलिफोन संवाद गरी जानकारी माग गरेका थिए। देउवा दम्पतीले स्वदेश फर्कने क्रममा पनि त्रिभुवन विमानस्थलमा यही प्रश्नको सामना सञ्चारकर्मीहरुबाट सामना गरेका थिए।

राणाले सरकार परिवर्तनको खबर मनोरञ्जनका लागि फैलाउने गरेको प्रतिक्रिया दिएकी थिइन् भने देउवाले यसबारे आफूलाई जानकारी नभएको जवाफ फर्काएका थिए।

 

 


प्रतिकृया दिनुहोस्