Hamro Sanchar

सांस्कृतिक योद्धाहरूको योगदानकै कारण सामन्तवादको अन्त्य सम्भव भयो : प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ११ गते


Advertisement

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक सामाजिक परिवर्तनका लागि जनतालाई जागृत गर्न सांस्कृतिक योद्धाहरूको ऐतिहासिक भूमिका रहेको बताएका छन् ।

जनगायक जेबी टुहुरेको तेस्रो स्मृति दिवसका अवसरमा जेबी टुहुरे फाउन्डेसनले आयोजना गरेको स्मृति दिवस तथा स्रष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले दर्शन, सिद्धान्त र राजनीतिका धेरै कुरा गरेर भन्दा गीत, सङ्गीतका थोरै प्रस्तुतिबाट जनतामा धेरै भन्दा धेरै जागरण पैदा गर्न सकिने बताए ।

उनले सांस्कृतिक योद्धाहरु जीवनभर जनतामा जागरण पैदा गर्दागर्दै मर्ने र मरिसकेपछि पनि युग युगसम्म जागरण पैदा गरिरने र कहिल्यै नमर्ने बताए । पारिजातको कविता उधृत गर्दै उनले सहिदहरू कहिल्यै नमर्ने बरु उनीहरू युग युगसम्म नारा भएर घन्किरहने बताए ।

जेबी टुहुरे फाउन्डेसनले एक लाख राशिसहितको जेबी टुहुरे सम्मान २०८१ मरणोपरान्त अर्का जनगायक खुसीराम पाख्रिनलाई समर्पण गरेको छ ।

इच्छुक प्रतिष्ठानको सभा हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै सांस्कृतिक योद्धाहरुलाई एकैसाथ सम्झन पाउनु खुसी र गौरवको विषय भएको बताए । ‘महान् सहिद कृष्णसेन इच्छुकको स्मृतिमा निर्मित भवनमा जेबी टुहुरेको स्मृति दिवसमा खुसीराम पाख्रिनलाई मरोनोपरान्त सम्मान गर्न पाउँदा निकै गौरवान्वित महसुस गरेको छु’– उनले भने-‘मेराका लागि यो निकै खुसी र गर्वको क्षण हो ।’

सेन, टुहुरे र पाख्रिन जस्ता सांस्कृतिक योद्धाहरूले गरेको योगदान र बलिदानकै कारण श्रमिक वर्गमा चाँडै चेतना जागृत भएको र सामन्तवादको अन्त्य गर्न सम्भव भएको अध्यक्ष प्रचण्डको भनाई थियो । ठुलो बलिदानपछि आएको परिवर्तन संस्थागत गर्ने क्रममा पाख्रिन र टुहुरेलाई नीति निर्माण तहमा लैजान सकिएकोमा खुसी व्यक्त गर्दै उनले सांस्कृतिक योद्धाहरुको समाज रूपान्तरणप्रतिको योगदानलाई उच्च सम्मान गर्नुपर्ने बताए ।

जेबी टुहुरे फाउन्डेसनका निर्भिका टुहुरेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष गुरु बराल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पूर्णबहादुर घर्तीलगायतले बोलेका थिए । सो क्रममा जनवादी कलाकारहरूले सांस्कृतिक योद्धाहरुको सम्मानमा प्रस्तुति दिएका थिए । कार्यक्रम सञ्चालन जनसांस्कृतिक महासङ्घका अध्यक्ष भीम कुमाखीले गरेकी थिइन् ।


प्रतिकृया दिनुहोस्