Hamro Sanchar

चुनावअघि गरिने गठबन्धनले लोकतन्त्र संकटमा: गगन थापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ११ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअघि गरिने गठबन्धनले मुलुककै लोकतन्त्र संकटमा परेको बताएका छन् ।

नीति फाउण्डेसनले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले
कुनै दलले एक्लै बहुमत ल्याउन नसक्ने हुँदा चुनावअघि गरिने गठबन्धनले दलभित्र र मुलुककै लोकतन्त्र संकटमा परेको बताएका हुन् ।

उनले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा समेत जोड दिएका छन्।

कार्यक्रममा महामन्त्री थापाले निर्वाचन प्रणालीमा सुधार नल्याएसम्म राजनीतिक अस्थिरता नरोकिने बताएका छन् ।

वर्तमान निर्वाचन प्रणालीकै कारण अहिले माओवादी केन्द्रलाई कांग्रेसले सानो दल भन्न समेत सक्ने अवस्था नरहेको उनले तर्क गरे ।

‘एमालेले माओवादीलाई सानो शक्ति भन्न पाउँछ । तर कांग्रेसले माओवादीलाई सानो दल भन्न पाउँदैन’, थापाले भने, ‘जत्रो शक्ति भएपनि आलोपालो प्रधानमन्त्री हुने भनेपछि हामीले सानो भन्न पाउँदैनौं ।’

निर्वाचन प्रणाली सच्याउनुपर्ने कारणबारे यस्तो पृष्ठभूमि राखेपछि महामन्त्री थापा संविधान संशोधनको विषयमा प्रवेश गरेका थिए । नेकपा एमालेसँग राजनीतिक स्थिरता सुनिश्चित गर्ने प्रयोजनकै सिलसिलामा संविधान संशोधनको सहमति भएको थापाले बताए ।

तर संविधान संशोधन गर्दा तीन विषयलाई सुनिश्चित गरिने उनले बताएका छन् ।

पहिलो, थप समावेशी संसद् । अहिले संविधान संशोधनको प्रसंगमा समावेशी संसदबारे चिन्ता गरिएकाले यसबारे सुनिश्चितता गरिनुपर्ने उनले बताए ।

दोस्रो सुनिश्चितता संसदहरुको योग्यतामा गरिनुपर्ने उनले बताए ।

र तेस्रो सुनिश्चतता भने संसदको आकार घटाउने हो । महामन्त्री थापाले अहिलेको भन्दा सानो आकारको संसद्, मन्त्रालय र मन्त्री रहनेगरी कानुन परिवर्तन गरिनुपर्ने पनि बताएका छन् ।


प्रतिकृया दिनुहोस्