काठमाडौं । छिमेकि देश भारत बिहारको समस्तीपुर जिल्लामा नेपाली सवार बस दुर्घटना भएको छ । दुर्घटनामा परि ३० जना भन्दा बढी घाइते भएका छन् ।
४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारतका विभिन्न अनलाइनहरुले लेखेका समाचार अनुसार दुर्घटनामा तीन दर्जन यात्री घाइते भएका छन् ।
एक किशोरसहित ५ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा भइरहेको छ ।
सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।
एसएपी सञ्जय पाण्डेका अनुसार घाइतेहरु नेपालको बारा जिल्ला निवासी हुन् । उनीहरु जल चढाउनका लागि झारखण्डको देवघर तीर्थका लागि जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले भने घटनाबारे आफूलाई जानकारी नभएको बताए ।