रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले अनेक काण्डमा मुछिएका मन्त्रीहरूलाई दायाँबायाँ राखेर ‘भ्रष्टाचारीको अनुहार हेर्दिन’ भन्दै हिँडेको टिप्पणी गरेका छन् ।
पार्टी सम्बद्ध विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी रोल्पाको २३औँ सम्मेलनलाई सोमबार साँझ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काण्डमा मुछिएकाहरूको बिचमा बसेर भ्रष्टाचारीको मुख हेर्दिन भनेको सुन्दा मानिसहरू हाँस्ने गरेको बताए।
आफ्ना अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासनका लागि भ्रष्टाचारविरुद्ध चालेको कदमबाट डराएर रातारात कांग्रेस–एमालेबिच सहमति गरिएको आरोप उनले लगाएका छन् ।
उनले भुटानी शरणार्थी र गिरीबन्धु टी स्टेट प्रकरणमाथि छानबिन हुने भएपछि र बालुवाटारमा हडपिएको सरकारी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याउन थालेपछि अप्रत्याशित रूपमा कांग्रेस–एमालेबिच गठबन्धन भएको उल्लेख गरेका छन् ।
माओवादी सशस्त्र जनयुद्ध, ०६२÷०६३ को संयुक्त आन्दोलन, शान्ति प्रक्रिया, गणतन्त्र घोषणा र संविधानसभामार्फत संविधान निर्माणसम्म आउँदा कांग्रेस–एमालेलाई रूपान्तरण गरियो होला भन्ने आफूहरूको अनुमान पछिल्ला घटनाक्रमहरूले गलत साबित भएको पुनले बताए ।
पुनले भ्रष्टाचारविरुद्ध र सुशासन कायम गर्न आफूहरूले सडक र सदनबाट सरकारलाई खबरदारी गर्ने चेतावनी दिए ।
फरक प्रसङ्गमा प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारमा अर्थमन्त्री रहेका पुनले आफूहरू सरकारबाहिर आउनुपरेका कारण नआत्तिएको बताए । तर, कांग्रेसकै वरिष्ठ नेताहरू सरकार सय दिन मात्र टिक्ने बताउन थालेको दाबी उनले गरेका छन् ।
सरकारले भ्रष्टाचारी र राज्य दोहनमा संलग्न तत्त्व र बिचौलियाहरूको संरक्षण गरिरहे जनताले लखेट्ने चेतावनी उनको थियो । पुनले बङ्गलादेशको राजनीतिक हावा काठमाडौँसहित देशका ठुला सहरमा चल्न थालेको भन्दै आफ्नो पार्टीको सरकारले थालेको भ्रष्टाचार विरोधी अभियानलाई निरन्तरता दिन सरकारलाई आग्रह गरे ।
फरक प्रसङ्गमा पुनले शान्ति प्रक्रियापछि रोल्पाले विकासमा फड्को मारेको बताए ।