
काठमाडौं, साउन १९- कागेश्वरी मनोहरा नगरपालिका-६ मूलपानीस्थित विद्या आर्जन माध्यमिक विद्यालय नगरकै सर्वोत्कृष्ट विद्यालय बन्न पटक पटक सफल भएको छ ।
२०८० सालको एसइई परीक्षामा ३.७२ औषत उपलब्धि स्तर (जीपीए) नतिजा ल्याएर नगरकै सर्वोत्कृष्ट विद्यालय बनेको हो ।
२६ जना सम्मिलित परीक्षामा सन्दिप थापाले ४ जिपिए प्राप्त गरेका छन् । यसैगरी ८ जनाले ३.९ भन्दामाथि जिपिए ल्याएका छन् । ३.६ जिपिए भन्दामाथि अर्थात् A+ जम्मा १९ जना र ३.२ भन्दामाथि अर्थात् A ७ जना विद्यार्थीले ल्याएका हुन् ।
सो अवसरमा विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी एसइईमा सम्मिलित विद्यार्थीहरुलाई सम्मान तथा बिदाई गरेको छ । नगरप्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष प्रकाश फुयाल नगरपालिकाका शिक्षा शाखा प्रमुख पुष्पराज ढकाललगायत स्थानीय जनप्रतिनिधि, शिक्षासँग सम्बन्धित व्यक्तित्वहरु, अविभावकहरुको उपस्थिति रहेको थियो ।
विद्यार्थीहरुलाई नगरप्रमुख कार्कीसहित अतिथिहरुले सम्मानपत्रसहित सम्मान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कार्कीले विद्यालयले नगरपालिकाको गरिमालाई उच्च राख्न सफल भएकोमा बधाई दिएका थिए । शिक्षाको विकास विना अन्य क्षेत्रको विकास सम्भव नभएको भन्दै उनले नगरपालिकाले शिक्षा क्षेत्रको विकासलागि महत्वपूर्ण योजनाहरु संचालन गरिरहेको बताए । नगरका विद्यालयहरुको भौतिक तथा गुणस्तरीय शिक्षा प्रणालीको विकासमा प्रयासरत रहेको र त्यसमा साथ दिन उनले सबैलाइ आग्रह गरे ।
नगरपालिकाभित्र शिक्षा क्षेत्रमा देशमै गर्भ गर्न लायक विद्यालयहरु रहेको उल्लेख गर्दै उनले नगरका विद्यालयका स्तरोन्ती गर्दै गुणस्तरीय शिक्षा प्रणालीको विकास गरिने बताए । उनले प्रत्येक विद्यालयले एसइईको रिजल्टलाई मात्र टार्गेट गरेर शिक्षा प्रदान गर्नुभन्दा पनि संस्कारसहित शिक्षालाई प्राथमिकतामा राखेर विद्यालयले शिक्षा दिनुपर्नेमा जोड दिए ।
अब नगरपालिकाको ध्यान फेल भएका विद्यार्थीमाथि गएको र पासमार्क पनि नल्याउने विद्यार्थीको हकमा विद्यार्थीलाई मात्र जिम्मा दिएर उम्कन नमिल्ने धारणा व्यक्त गरे । त्यसको जिम्मेवारी शिक्षक, विद्यालय र शिक्षा क्षेत्रमा लागेकाहरुले लिनुपर्ने बताए । उनकाअनुसार अब त्यस्ता विद्यार्थीको हकमा Not Graded (NG) उन्मुलन अभियान संचालन गरेर प्रत्येक विद्यालयमा अनुतिर्ण भएका संख्याको एक-एक हिसाब गरेर अनुसन्धान गर्दै समाधान पनि गरिने जानकारी दिए ।
कार्यक्रममा वडाअध्यक्ष फुयालले विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा बधाई दिँदै एसइईमा आउने जिपिएभन्दा पनि ब्यबहारिक ज्ञान दिने तर्फ विद्यालयको ध्यान जानुपर्ने बताए । एसइईमा सेटिंगमा सेन्टरहरु मिलाउने र त्यस्ता विद्यालयको नतिजा पनि सोचेअनुरुपकै आउने उदाहरण प्रस्तुत गर्दै उनले जिपिएसँगै ब्यबहारिक ज्ञान आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।
यस्तै शिक्षा शाखा प्रमुख ढकालले असल नागरिक निर्माणमा विद्यालयको महत्वपूर्ण भूमिका रहेको बताएका थिए ।
अनुशासित विद्यार्थी, योग्य एवं अनुभवी शिक्षक, लगनशील कर्मचारी, दक्ष व्यवस्थापक साथै सहयोगी अभिभावकज्यूहरूको संयुक्त प्रयासले नै यो उपलब्धि हासिल गरेको कुरा विद्यालयका प्रधानाध्यापक घनेन्द्र भट्टराईले बताए । फेरि पनि नगरकै सर्वोत्कृष्ट विद्यालय बन्न सफल भएकोमा निकै खुसी लागेको र यसले अझ बढी जिम्मेवार बनाएको प्रधानाध्यापक भट्टराईको भनाई छ । उनले भने, ‘विद्यालयलाई हरेक वर्ष उत्कृष्ट बनाउने हाम्रो लक्ष्य रहनेछ ।’
उनले ‘उत्कृष्टताको निरन्तरता’ भन्ने नारालाई विद्यालयले कायम गर्न सफल भएको बताए । प्राप्त उपलब्धिको निरन्तरतामा आफूहरु कटिबद्ध भएर लागेको उनको भनाइ छ । वर्षौदेखिको अथक प्रयास परिणाममुखी बन्दै गएकोमा हामीलाई थप हौसला मिलेको उनले बताए ।
२०४८ सालमा स्थापित यो विद्यालयले दिनानुदिन प्रगति गर्दै गरेको र आगामी दिनहरूमा पनि विद्यालयको गरिमालाई जोगाई राख्न साथै यस क्षेत्रकै शैक्षिक केन्द्रका रुपमा स्थापित गर्न कटिबद्ध भएर लागेको कुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश दाहालले बताए ।
यसअघि २०७४ र २०७८ सालमा पनि नगरपालिकाकै सर्वोत्कृष्ट विद्यालय बन्न सफल विद्या आर्जनलाई नगरपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको थियो ।























