आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एकीकृत समाजवादीमा बढ्यो आन्तरिक कलह

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, २६ गते


Advertisement

काठमाडौं, असार २५- नेकपा एमालेबाट छुट्टिएर बनेको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी ३ वर्ष नपुग्दै पार्टीभित्र आन्तरिक कलह देखिन थालेको छ । एकीकृत समाजवादीले गत साता मात्रै १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरे पनि पार्टीभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ ।

पार्टीको महाधिवेशन चलिरहँदा समाजवादीका नेता प्रेमबहादुर आले भारत भ्रमणमा निस्किए । उनी महाधिवेशन सकिएपछि मात्रै नेपाल फर्किए । उनीसँगै सांसद किसानबहादुर श्रेष्ठ पनि पार्टीमा विगत दुई महिनादेखि निष्क्रियजस्तै देखिन्छन् । नेता आले र श्रेष्ठसँग अहिले ५ जना सांसद रहेको दाबी छ ।

पार्टीको महाधिवेशन छाडेका नेता आलेले अब एकीकृत समाजवादीमा सक्रिय राजनीति नगर्ने घोषणा नै गरेका छन् । भारत भ्रमणबाट फर्केलगतै उनले आफू जनमोर्चाको जतिको हैसियत पनि नभएको पार्टीमा फर्केर नजाने बताए । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई समेत प्रेम आलेले अब एकीकृत समाजवादीमा सक्रिय राजनीति नगर्ने जवाफ दिइसकेका छन् । त्यसैले, गएको महाधिवेशनमा उनको नाम केन्द्रीय सदस्यमा समेटिएन ।

आले आफू आठ महिनादेखि पार्टीको कुनै पनि गतिविधिमा संलग्न नभएको बताउँछन् । ‘संसदीय दलको बैठकमा माधव कमरेडले मलाई किन फोन नउठाउनुभएको भन्नुभयो, मैले तपाईंको नम्बर नै मेरो मोबाइलमा छैन भनेर जवाफ दिएँ,’ नेता आलेले भने, ‘पार्टी अध्यक्षको नम्बर छैन भनेपछि तपाईंसँग अब कसको नम्बर छ त भनेर प्रश्न गरेपछि मैले अशोक राई, प्रदीप यादवलगायतको नम्बर छ भनेर जवाफ दिएँ ।’

आफूले जवाफ दिएपछि माधव कमरेड चुपचाप बसेका र त्यही दिनदेखि अब तपाईंको पार्टीमा म कुनै पनि हैसियतमा बस्दिनँ भनेर जवाफ दिएको आलेले बताए । उनले भने, ‘त्यसपछि म समाजवादीको पार्टी कार्यालयमा फर्किएको छैन ।’

एकीकृत समाजवादीका अर्का सांसद अब नेपाल नेतृत्वको पार्टीमा बस्नुको औचित्य सकिएको बताउँछन् । नाम नबताउने सर्तमा ती सांसदले भने, ‘पार्टीको कार्यदिशा नै सही ट्र्याकमा नभएको र अध्यक्ष नेपालले आफूखुसी एकलौटी निर्णय गर्ने गरेकाले मजस्तै धेरै साथीहरू सन्तुष्ट छैनन् ।’ जनमानसमा भन्दा पनि पार्टीका अध्यक्ष स्वार्थकेन्द्रित राजनीतिमा लागेको ती सांसदको अरोप छ । यो समाचार राजधानी दैनिकमा छ ।


प्रतिकृया दिनुहोस्