आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपालले बंगलादेशलाई बिजुली बेच्ने पक्कापक्की

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ३१ गते


Advertisement

काठमाडौं, जेठ ३१- लामो समयको प्रयासपछि अब नेपालको बिजुली बंगलादेश निर्यात हुने भएको छ। नेपालको आग्रहलाई स्वीकार गर्दै बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली लैजाने भएको छ।

बंगलादेशको सरकारी समाचार संस्था बिएसएसका अनुसार मंगलबार बंगलादेशका अर्थमन्त्री अबुल हसन महमुद अलिको संयोजकत्वमा बसेको खरिद समितिको बैठकले नेपालबाट ४० मेगावाट बिजुली खरिद ‍गर्ने निर्णय गरेको हो।

नेपालबाट भारतको प्रसारण ग्रीड हुँदै बंगलादेशले बिजुली लैजाने निर्णय भएको जानकारी मन्त्रीपरिषद् डिभिजन सचिव महमुदुल होसैन खानले पत्रकारहरूलाई दिए।

बंगलादेशले प्रसारण लाइनको शुल्क भारतलाई ०.०५९ रूपैयाँ प्रतियुनिट ट्रेडिङ मार्जिन तिरेर लैजाने तयारी छ। पाँच वर्षका लागि सम्झौता गर्ने तयारी छ। वार्षिक १३० करोड टाका खर्च हुने र पाँच वर्षमा ६५० करोड टाका खर्च हुने अनुमान बंगलादेशको अर्थ मन्त्रालयलाई उद्धृत गर्दै सञ्चार माध्यमले जनाएका छन्। बंगलादेशी मुद्रा एक टाकाको नेपाली एक रूपैयाँ १४ पैसा हुन्छ।

गत वर्ष नेपालको बिजुली बंगलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको थियो। नेपाल, भारत र बंगलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको थियो। ४० मेगावाट धेरै नभए पनि नेपालको बिजुली तेस्रो देश निर्यात गर्ने विषय भने महत्त्वपूर्ण रहेको सरोकारवाला बताउँछन्।

नेपाल विद्युत् प्राधिकरणले भारतीय नोडल एजेन्सी एनभिभिएन बंगलादेश निर्यातका लागि सहमति गरिसकेको छ। सोही संस्थामार्फत नेपालको बिजुली बंगलादेश पुग्नेछ। असार दोस्रो साता नेपाल र बंगलादेशबीच हुने ऊर्जा सचिवस्तरीय बैठकमा विद्युत् व्यापार सम्झौता गर्ने तयारी छ। यो समाचार नागरिक दैनिकमा छ ।


प्रतिकृया दिनुहोस्