
काठमाडौँ, जेठ २२- आगामी कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । धावनमार्ग विस्तारसम्बन्धी निर्माणका लागि कात्तिक २३ देखि चैत १८ सम्म पाँच महिना राति १० बजेपछि बिहान ८ बजेसम्म उडान बन्द हुने भएको हो ।
अहिले त्रिभुवन विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको छ । अन्तर्राष्ट्रिय वायुसेवाले आफ्ना उडानको समय तालिका फेरबदल गर्नेछ । यसैका आधारमा वायुसेवाहरूले जारी भइसकेका टिकटको उडान समय फेरबदल भइसकेको जानकारी यात्रुहरूलाई दिनुपर्छ । यो अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) द्वारा जारी नियम हो ।
उक्त अवधिमा तीन निर्माण व्यवसायीले धावनमार्गको उतर–दक्षिणतर्फ जोडिएका चारवटा ट्याक्सी–वे भत्काउने, पुनर्निर्माण गर्ने, धावनमार्गसँग जोड्ने, स्तरोन्नति गर्ने, नयाँ एप्रोनसँग जोड्नेलगायत काम हुनेछन् ।














