काठमाडौं जेठ १७- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र, वर्ग र जनताको निम्ति फेरि एउटा नयाँ आन्दोलनको तयारीमा रहेको बताएका छन् ।
बिहीवार काठमाडौंमा जनसांस्कृतिक महासंघ नेपालको राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले क्रान्तिको बाटो सरल रेखामा नजाने बताउँदै सरकारको तर्फबाट सुशासन, सामाजिक न्याय र समृद्धिको मात्रै कुरा नगरिएको बताए । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई गम्भीरताका साथ हेर्ने हो भने समाजवादको बीउ रोप्ने प्रयास गरिएको उनले उल्लेख गरे ।
समाजवादको निम्ति एकता आवश्यक रहेको पनि उनले बताए । उनले सामाजिक न्याय, सुशासन र समृद्धिको कुरा गर्नुको तात्पर्य समाजवादको आधार तयार पार्नु रहेको बताए । कृषिलाई आधार बनाएर र आईटीलाई अगाडि बढाएर मात्रै समाजवादी यात्रामा अघि बढ्नसक्ने उनको भनाइ छ । समाजवादको सोच र रुपान्तरणको अभियान सांस्कृतिक रुपान्तरणको अभियान भएको उनले बताए ।