काठमाडौं, जेठ १- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ ।
मंगलबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले राष्ट्रपतिलाई सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको हो ।
संघीय संसदको संयुक्त बैठकमा मंगलबार अपराह्न ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधि सभा अवरोध गर्दै आएको छ ।
कांग्रेसले नीति तथा कार्यक्रम बाचन गर्न दिएर त्यसपछिका छलफल भने संसदीय छानबिन समिति गठन नभएसम्म रोक्ने रणनीति लिएको छ ।
संसदीय दल कार्यसमिति बैठकलगत्तै अहिले संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ । दल बैठकमा सांसदहरूले धारणा राखेका छन् । दल बैठकको औपचारिक निर्णय आइसकेको छैन ।