
दाङ, वैशाख २८- रूकुम पश्चिममा कुटपिट गरेर देउरानीको हत्या गरेको आरोपमा जेठानी पक्राउ परेकी छन् । रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १३ एगौलीकी ४० वर्षीया हिरा विकलाई देउरानी हत्या आरोपमा प्रहरीले दाङको बबई गाउँपालिका वडा नम्बर ५ हुरूमबेली चौरबाट बिहीबार नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार २०७५ पुस २५ गते बिहान ७ बजेतिर घरायसी विवादका कारण हिराले आफ्नै देउरानी २८ वर्षीया कल्पना नेपालीलाई कुटपिट गरेकी थिइन् ।
घाइते कल्पनाको उपचारका क्रममा २०७८ मंसिर १९ गते मृत्यु भएको थियो । कल्पनाको मृत्यु पछि हिरा फरार भएकी थिइन् । पक्राउ पछि हिरालाई घटना अनुसन्धानका लागि रुकुम पश्चिम लगिएको छ ।
उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको उनले बताए ।












