Hamro Sanchar

कागेश्वरी मनोहरा पर्यटन महोत्सवको उद्घाटन अर्थमन्त्री महतले गर्ने

प्रदिप नेपाली प्रकाशित : २०८० फागुन, ५ गते


Advertisement

काठमाडौं, फागुन ५- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा सोमबार (फागुन ७) हुने ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’को उद्घाटन अर्थमन्त्री डा. प्रकाश शरण महतले उद्घाटन गर्ने भएका छन् । शनिबार नगरपालिकाको सभाहलमा भएको पत्रकार सम्मेलनमा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले सो कुराको जानकारी दिएका हुन् ।

मेयर कार्कीकाअनुसार मन्त्री महतले बिहान महोत्सबको १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सोमबार वडा नम्बर- १ मा रहेको प्रशिद्ध तीर्थस्थल कागेश्वरी मन्दिर परिसरमा १०औं पर्यटन महोत्सव हुनेछ ।

यसै सन्दर्भमा महोत्सवको तयारी बारे जानकारी दिन नगरपालिकाले आज बिहान पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

पत्रकार सम्मेलनमा मेयर कार्कीले धार्मिक, पर्यापर्यटन र खेलकुदका हिसावले अत्यन्त सम्भावना रहेको कागेश्वरी मनोहरा नगरपालिकाका सबै वडा अध्यक्षको संयोजकत्वमा विभिन्न विषयगत उपसमिति गठन गरी महोत्सव तयारी गरिरहेको जानकारी दिँदै उपस्थितिका लागि सबैसँग अनुरोध गरे ।

महोत्सवका अवसरमा राष्ट्रियस्तरका कलाकारको प्रस्तुतिसहित स्थानीय कृषि उत्पादन मेला, शैक्षिक तथा सांस्कृतिक प्रदर्शनी, भजनकीर्तन, स्वास्थ्य शिविर, पर्यापर्यटन, नवप्रवद्र्धनात्मक गतिविधि र उद्यमशीलताको विकास एवं प्रबद्र्धनसँग सम्बन्धित कार्यक्रम हुने मेयर कार्कीले बताए ।

महोत्सवमा छिमेकी गोकर्णेश्वर र शङ्खरापुर नगरपालिकासहित ५० हजार काठमाडौँ उपत्यकाबासीको उपस्थिति हुने अपेक्षा गरिएको छ ।

कागेश्वरी मन्दिर पशुपतिनाथ मन्दिरबाट पूर्वीउत्तरतर्फ पर्छ । लिच्छवीकालीन गणेश मूर्ति र गुफा पनि यहाँको आकर्षणको केन्द्र हो । यहाँका धार्मिक एवम् पर्यटकीयस्थललाई चिनाउन २०७२ सालदेखि प्रत्येक वर्ष फागुन ७ गते महोत्सव आयोजना गर्ने गरिएको छ । चतुःषष्ठी लिंगमध्येको ३४औँ लिंगका रूपमा समेत मानिने कागेश्वरीमा प्रत्येक वर्षको भाद्र शुक्ल अष्टमीका दिन भव्य मेला लाग्ने गर्दछ । महादेवले सतीदेवीको मृत शरीर बोकेर हिँड्ने क्रममा यहाँ कान पतन भएको कथा पुराणमा व्याख्या गरिएको छ ।

लोकतान्त्रिक सहिद उद्यानमा एक हजार किलोको कागको मूर्ति निर्माण भएको छ । यो विश्वकै सबैभन्दा ठूलो कागको मूर्ति भएको बताइएको छ । धार्मिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण यो स्थल प्राकृतिकरूपमा पनि आकर्षक छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको कागेश्वरीबाट उपत्यकाको सुन्दर दृश्य देखिन्छ ।


प्रतिकृया दिनुहोस्