कास्की, माघ २७- पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सरकारले जनताका अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् ।
शनिबार पोखरामा समाजवादी प्रेस संगठन नेपाल कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले जनअपेक्षा पूरा गर्न नसकिएकाले जनतामा असन्तोष, आक्रोश बढेको बताए । जनताले दिशाहीन महसुस गरेको उल्लेख उनले उल्लेख गरे ।
नेता खनालले जनताका आधारभूत समस्या छुने गरी सरकारले काम गर्नुपर्ने बताए । सरकारले सही ढंगले काम गर्न नसक्दा राजावादी र पुनरुत्थानवादी शक्ति बढेको नेता खनालले जिकिर गरे ।
नेता खनालले भने, “सत्तामा बसेका शक्तिले ठिक ढंगले काम गर्न नसकेकाले अन्य शक्ति देखिएका छन् । सत्तामा बस्नेले नीति र कार्यक्रममा परिवर्तन गर्नु आवश्यक छ ।”
नेपालको कम्युनिस्ट आन्दोलनमा गलत वैचारिक र राजनीतिक कार्यदिशाका कारण विभाजन आउने गरेको उनको भनाइ थियो । उनले सही कार्यदिशा भएका खण्डमा कम्युनिस्ट आन्दोलन पुनः एकताबद्ध हुने उल्लेख गरे ।
“१० लाख पार्टी सदस्य भएको नेकपामा विभाजन भएको छ । विभाजनका कारण गलत वैचारिक राजनीतिक कार्यदिशा हो । सही वैचारिक राजनीतिक कार्यदिशा भयो भने कम्युनिस्ट आन्दोलन एकताबद्ध हुन्छ । कम्युनिस्ट, वामपन्थीको एकता इतिहासको आवश्यकता हो,” खनालले भने ।
समाजवाद प्राप्तिको नीति, कार्यक्रम र नेपाली विशेषताको समाजवादका बारेमा प्रस्ट पार्नुपर्नेमा उनले जोड दिए ।
एकीकृत समाजवादीको आसन्न राष्ट्रिय महाधिवेशनपछि नेपाली कम्युनिस्ट र समाजवादी आन्दोलनमा नयाँ लहर सिर्जना हुने नेता खनालले जिकिर गरे ।