धनगढी, पुस १७- काठमाडौं महानगरपालिकाको सिको गर्दै, कैलालीको धनगढी उपमहानगरपालिकाले माघ १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाएको छ । मङ्गलवार एक विज्ञप्ति जारी गर्दै सो उपमहानगरपालिकाले चुरोट, बिँडी, सिगार, तमाखु लगायतका सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको जानकारी दिएको हो ।
विज्ञप्तिमा उपमहानगरपालिकाको स्वास्थ्य सेवा ऐन २०७७ को दफा ३० (१) र सोही ऐनको दफा ३० (२) बमोजिम सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न नगराउन हुन सम्बन्धित पसलहरूलाई आग्रह गरिएको छ । सुर्तीजन्य पदार्थ विक्री वितरण गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने समेत बताइएको छ ।