काठमाडौँ, कात्तिक १९- नेपालको पश्चिमी भागमा निरन्तर जसो गइरहेका मझौला तथा ठुला भूकम्पले देशका अन्य भूभागमा सञ्चित भूकम्पको शक्तिलाई खलबल्याउन थालेको छ । सङ्घीय राजधानी काठमाडौँ आसपास र पूर्वको पहाडमुनि सञ्चित शक्तिलाई खलबल्याउँदै गएको दाबी भूगर्भविद्हरूको छ । यो पुरानो र नयाँ शक्ति हो ।
उनीहरूका अनुसार शक्ति सञ्चित हुनुमा केही कारण छन्। गोरखा केन्द्रबिन्दु भएर २०७२ सालमा गएको ७.८ म्याग्निच्युडको भूकम्पपछि केही वर्ष परकम्पमा बिते । त्यसले अर्को महाभूकम्पको शक्ति काठमाडौँको जमिनमुनि थुपारिदिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार तीन वर्षयता पश्चिम नेपालका विभिन्न भूकम्पको निरन्तरको धक्का बढ्न थालेको हो । गत असोज १६ गते बझाङमा एकै दिन गएका ६.३ र ५.३ म्याग्निच्युडको भूकम्पपछि लगातारजसो नै त्यो क्षेत्रमा भूकम्प जाने क्रम जारी छ । जसको कम्पन काठमाडौँसम्म राम्रै महसुस गरिएको थियो । त्यसअघि वैशाखमा बाजुरामा यही आसपासको भूकम्प गएको थियो ।
शुक्रबार मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्पको धक्काले काठमाडौँ पनि हल्लिएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बताए । रातको समयमा भूकम्प गएकाले पनि जाजरकोट र रुकुममा बढी जनधनको क्षति पुगेको उनले बताए । भूकम्पले भौगर्भिकस्तरमा पारेको असरबारे अध्ययन गर्न अधिकारीसहितको टोली जाजरकोट पुगेको छ । अध्ययनपछि मात्र पृथ्वीको गर्भभित्रका प्लेट एकआपसमा कति धसिए भन्ने पत्ता लाग्ने उनले बताए ।
भूकम्प अनुगमनमा व्यस्त भूकम्पविद् सञ्जय कुशवाहका अनुसार शनिबार बिहानसम्म चार म्याग्निच्युड र त्यसभन्दा माथिका चार वटा परकम्प गए । त्यसभन्दा साना खालका १६० वटा भन्दा बढी परकम्प महसुस गरिए । बझाङ भूकम्पका मात्र पाँच सयभन्दा बढी परकम्प महसुस गरिएका थिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।