काठमाडौं, भदौ ७- लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ बाबाचोकस्थित नवनिर्मित भवनको संस्थाका अध्यक्ष शंकर थापाले रिवन काटेर उद्घाटन गरेका हुन् ।
संस्थाले बुधबार १६औं स्थापना दिवस तथा पन्ध्रौ बार्षिक उत्सवको अवसर पारेर एक कार्यक्रमको आयोजना गरि नवनिर्मित भवनको उद्घाटन गरेको हो ।
उद्घाटनसँगै सहकारीले केहिदिन बाटै आफ्नै नयाँ भवनबाट सेवा सुरु गर्ने बताएको छ ।
जग्गा खरिद र भवन निर्माण गरि करिब ३ करोड लगानी गरेको सहकारीले भवन निर्माणमा मात्रै एक करोड २२ लाख रुपैयाँ खर्चेको सहकारीका अध्यक्ष थापाले जानकारी दिए । दुइवटा भाडाको सटरसहित सभाहल, अध्यक्षको कार्यकक्ष, काउन्टर, सेफ, कार्यालय कोठासहितको भवन बनेपछि सेवा प्रदानमा सहज हुने अध्यक्ष थापाको भनाइ छ ।
२०६४ सालमा स्थापित सहकारीमा स्थानीय १ हजार ८ सय ७० भन्दा बढी सेयर सदस्य रहेका छन् भने कुल ३० करोड रुपैयाँ बराबरको कारोबार भइरहेको जनाइएको छ । सहकारीले घर वा पसल पसलमा पुगेर दैनिक बचत संकलन गर्ने र सुरुदेखि नै मासिक बचत एवं सेयर रकम वृद्धिमै बढी जोड दिएको जनाएको छ ।
संस्थाले २०६४ सालमा लक्ष्मण प्रसाद लामिछानेको अध्यक्षता तदर्थ समिति बनाएर वडाकै लक्ष्मीनारायण मन्दिर परिसरमा सुकुल ओछ्याएर सेवा दिन सुरु गरेको थियो । आफ्नै भवन, आफ्नै कार्यालय, आफ्नै सहकारी भन्ने उदेश्य लिएर अघि बढेको संस्थाले बिभिन्न आरोह-अवरोह पार गर्दै सुविधासम्पन्न भवन निर्माण गर्ने तहसम्म पुगेको अध्यक्ष थापाको भनाई छ ।
सहकारीले समुदाय विकास कोष संचालन गरेको जानकारी दिँदै अध्यक्ष थापाले सम्बृद्धिको लागि स्थानीय स्तरमा सानो भएपनि टेवा पुर्याउन सफल भएको बताए । ‘स्थानीय स्तरमा बचत गराउने संस्कारको विकास गरेको छ, कमाउने र लाभांश मात्र बाढ्ने गर्दैनौ, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान, दैविक प्रकोपमा परेकालाई सहयोग, रक्तदान लगायतका कार्यक्रममा गर्छौ, जसको कारण आर्थिक सम्बृद्धिको लागि सानो भएपनि सहयोग पुगेको छ, भोलिका दिनमा अझ प्रगतिको बाटो सहकारी लम्कदै अघि बढ्छ ।’ उनले भने ।
मुलपानीकै पहिलो सहकारीका रुपमा स्थापित संस्थाले सुरुका दिनमा सहकारी सञ्चालन गर्न चुनौतिपूर्ण भएता पनि आफुहरु सफल भएको तदर्थ समितिका अध्यक्ष लामिछानेको भनाई छ । लक्ष्मीनारायणको स्थापनासँगै गरिबीका रेखामुनी रहेका मजदुर, किसान, विपन्न तथा साना व्यवसायीको छरिएर रहेको पुँजीलाई एकीकृत गरी बचत गर्ने बानीको विकास भएको अध्यक्ष लामिछानेले बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै वडा नम्बर ६ का अध्यक्ष प्रकाश फुयालले देशको वित्तिय क्षेत्र सुस्त रहेको अवस्थामा पनि सहकारीले आफनै भवनबाट कारोबार शुरु गर्नु सुखद भएको र लगानी तथा बचतकर्ताले जम्मा गरेको रकम सुनिश्चितता भएको बताए । यस्तै वडाअध्यक्ष फुयालले समाजमा देखिने खालका रक्तदान, वृक्षारोपण, सरसफाइ, टोल सुधार जस्ता कार्यक्रममा स्थानीय तहसँग सहकार्य गर्न सुझावसमेत दिए ।
वडा नम्बर ७ का अध्यक्ष भीमसेन थापाले अहिलेको प्रविधियुक्त समयानुसार अत्याधुनिक भवनबाट आफ्ना शेयर सदस्यलाई सेवा दिने गरी भवन बनाएर आर्थिक कारोबार सुरु गर्नु सकरात्मक भएकाले यो अभ्यासले सहकारीको आर्थिक पारदर्शितासँगै सहकारी प्रति शेयर सदस्यहरुको विश्वास बढ्दै जाने बताए । साथै उनले सहकारीमा दुख र अप्ठ्यारो पर्दा सम्झने वातावरण बनोस् र जनविश्वास कायम राख्न सकोस् भन्दै शुभकामना दिएका थिए ।
कार्यक्रममा आनन्द भैरव माध्यमिक विद्यालयकी प्रधानाध्यापक सरस्वती थापा कार्कीले सहकारीले आफ्नै भवन सञ्चालन गर्न सफल भएकोमा आफु खुसी भएको र सबै नागरिक जोडिनुपर्ने बताइन् । उनले सहकारी भनेको जनता आफैले अवसर लिनको लागि खोलेको बैङ्क भएको हुँदा जनतालाई समृद्धिको यात्रामा अगाडी बढाउन सहकारीले भुमिका खेलेको बताइन् ।
कार्यक्रममा काठमाडौं जिल्ला सहकारी सचिव बालकुमार बास्तोलाले भवन निर्माण गरी आफ्नो क्षमता प्रदर्शन गरेकोमा खुशी व्यक्त गर्दै भवनले सक्षम नेतृत्वको उदाहरण दिएको बताए । उनले आफ्नै भवन निर्माण गरेर आत्म निर्भर बनेको भन्दै बधाई समेत दिए ।
कार्यक्रमका सभापति तथा संस्थाका उपाध्यक्ष राजु प्रसाद अधिकारीले सहकारीको स्थापनाले गर्दा खनखाचोमा पैसा आवश्यकता पर्दा चर्को व्याजमा व्यक्तिसंग ऋण लिनुपर्ने बाध्यता हटेको उनले बताए । संस्थाले सबै सदस्यको हितमा काम गर्ने बताए । उनले सुरुको स्थापना देखिको आजसम्मको यात्रालाई गौरवको दिन भएको र सेयर सदस्य, लगानीकर्ता र बचतकर्ताको सारथी भएर अघि बढ्ने बताए ।
संस्थाका अध्यक्ष शंकर थापाको प्रमुख आतिथ्य तथा उपाध्यक्ष राजु प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रमलाई सचिव पुस्करराज नेपालले संचालन गरेका थिए । भने संचालक समिति सदस्य बबिना खड्काले स्वागत मन्तब्य दिएकी थिइन् । कार्यक्रममा विभिन्न सहकारीका संचालक, नगरपालिकाका सहकारी विभागका प्रतिनिधि, संचालक समितिका सदस्यहरु, सेयर सदस्य, पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा तोकिएको समय अगावै भवन निर्माण गरेर हस्तान्तरण गर्ने कम्पनि र इन्जिनियरलाई सम्मान पनि गरिएको थियो ।