काठमाडौं, जेठ १९- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ का वडाअध्यक्ष प्रकाश फुयाल भत्किएका सडकका खाल्डा टाल्न आफै निस्केका छन् । वर्षायाम सुरु भएसँगै वडाअध्यक्ष फुयाल वडाभित्रका मुख्य सडक र कालोपत्रे गरिएका सडकका खाल्डा टाल्न कामदार लिएर आफै खटेका हुन् ।
वडाले विकास निर्माणका कार्यलाई तिब्रता दिएको छ । वडाको गौरिनाथ मन्दिर देखी लामिछाने गाउँ नवदुर्गा मन्दिरसम्मको बाटो कालोपत्रे गर्ने काम भैरहेको छ । त्यहाँका कामदारको अतिरिक्त समय आफैले गोजीको पैसा खर्च गरेर आवश्यक सामान जुटाई वडाभित्रका सडकका खाल्डा टाल्न लागेका हुन् । कामदारले लिने ज्याला पनि उनि आफैले दिएका छन् ।
हाम्रोसंचारसँग वडाध्यक्ष फुयाल भन्छन्, ‘हामीले विकास निर्माणका कार्यलाई तिब्रता दिएका छौं । कतिपय कामहरु सम्पन्न भैसके र केहि सम्पन्न हुँदैछन् । वर्षायाम सुरु भयो । मुख्य र कालोपत्रे गरिएका सडकमा केहि स्थानमा खाल्डाखुल्डी छन् । झरी परेपछि हिलो हुन्छ, त्यहिँ पानी जम्छ । बेलैमा मर्मत गरियो भने भोलिका दिनमा हुने दुर्घटना र जोखिम कम गर्न सकिन्छ । ठेकेदारको भर पर्न थाल्यो भने त बर्ष बित्छ । गर्न सक्ने काम थाँती राख्नु हुन्न । अनि हाम्रो कर्तव्य पनि हो । जनता मेरा हुन्, म जनताको साझा प्रतिनिधी हुँ । भोलि जनताले हामीलाई नै हो धारेहात लाउने ।’
समाजको विकास र परिवर्तनका लागि सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाइ छ । उनले आफ्नो कार्यकाल अवधिमा जनताका आधारभूत आवश्यकता परिपुर्ति गर्न ध्यान दिने बताए । साथै उनले वडाको सामाजिक, आर्थिक तथा शैक्षिकलगायत विभिन्न क्षेत्रको विकासमा जोड दिने प्रतिबद्धता जनाएका छन् ।
उनकाअनुसार अहिले वडाको गौरिनाथ मन्दिर देखी लामिछाने गाउँ नवदुर्गा मन्दिरसम्म र अधिकारी गाउँ, धारापाखा लामिछाने गाउँ र नेपालडाँडासम्मको साढे दुई किलोमिटर सडक कालोपत्रे भैरहेको छ । भने वडाभित्रको विपत ब्यबस्थापन, सडक ढलान, र निर्माणका कार्यलाई तीब्रता दिएको छ ।
तस्बिरमा हेर्नुहोस् वडामा भएका विकास निर्माणमा भएका कार्यहरु-