Hamro Sanchar

प्रहरीले पक्राउ गर्दैमा सांसदलाई निलम्बित नगरौँ : ज्ञानेन्द्रबहादुर शाही

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, २७ गते


Advertisement

काठमाडौं । प्रहरीले पक्राउ गर्दैमा सांसदहरूलाई निलम्बन गर्न नहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले बताएका छन् । शुक्रबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा बोल्दै उनले अदालतले दोषी प्रमाणित नगरेसम्म सांसद पद निलम्बन गर्न नहुने जिकिर समेत गरेका हुन्।

प्रमुख सचेतक शाहीले राष्ट्रपति निर्वाचनका बेला कुनै सांसद पक्राउ परे भने उसको मतदान गर्ने अधिकार हनन हुने गरी नियमावलीमा कुनै पनि व्यवस्था गर्न नहुने बताए । उनले भने, ‘जनताबाट निर्वाचित सांसदलाई कमजोर बनाउन पाइँदैन । यो गर्नै हुँदैन । यो पक्राउ गर्ने बित्तिकै, हिरासतमा राख्ने बित्तिकै यदि सबै अधिकार खोसिने हो भने यो त सांसद जनताबाट जीतको के महत्त्व भयो ?’

‘यो त सरकार पक्ष र बलियो पक्षले कुनै पनि बेला यसलाई हतियारको रूपमा प्रयोग गर्न सक्छ । त्यो भएको हुनाले यसमा मेरो के धारणा छ भने अदालतले फैसला गर्‍यो भने त्यो दोषी ठहर भयो सांसद पद निलम्बन हुने कुरा पनि ठिक छ,’ उनले भने, ‘तर पक्राउ गर्दैमा अहिले के छ त । एक जना सांसद बुटवल जाँदै गर्दा खेरी ल मानौँ समातिन सक्छ । के गरौँ । निलम्बन भयो भोटिङ गर्न पाइँदैन । भोलि अदालतमा गयो भने तिमी निर्दोष हौ भनेर फैसला गरिदिन सक्छ । तर यहाँ अधिकार त खोसियो नि ।’ प्रमुख सचेतक शाहीले अनुसन्धानका लागि पक्राउ गर्दैमा सांसद पद निलम्बनमा पर्ने कुरा संविधान विपरीत हुने तर्क समेत गरे ।


प्रतिकृया दिनुहोस्