काठमाडौं । नेकपा एमालेले आफ्ना सांसदहरुलाई शपथमा सहभागी हुन आउँदा राष्ट्रिय पोशाकमा आउन निर्देशन दिएको छ । लिखित निर्देशन नै नभए पनि मौखिकरुपमा सांसदहरुलाई राष्ट्रिय पोशाक र नेपाली भाषामै शपथ लिन भनिएको एक सांसदले जानकारी दिएका छन् ।
संविधानमा समेत आफ्नो मातृ भाषा र पोशाकमा सपथ लिन सक्ने व्यवस्था गरेकोमा नेतृत्वले राष्ट्रिय भाषा र पोशाक अनिवार्यजस्तै गर्न खोजेको भन्दै केही सांसद असन्तुष्ट समेत बनेका छन् । असन्तुष्ट सांसदले उपाध्यक्ष सुवास नेम्वाङ र महासचिव शंकर पोखरेलसँग यसबारे असन्तुष्टि समेत पोखेका छन् । सांसदको गुनासोपछि नेम्वाङले आफूले बालकोट गएर अध्यक्षसँग कुरा राख्ने बचन दिएका थिए ।
एमालेका नेता लिलानाथ श्रेष्ठले भने सकभर राष्ट्रिय पोशाक र भाषामा सपथ लिंदा राम्रो हुने भनिएको तर अनिवार्य भने नगरेको बताएका छन् । प्रतिनिधि सभामा निर्वाचित सांसदहरुको शपथ ग्रहण बिहीबार दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा हुँदैछ । उनीहरुलाई ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शपथ खुवाउने छन् ।