तनहुँ, कात्तिक २९- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इतिहास रच्ने बेला आएको बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा सोमबार आयोजित सत्ता गठबन्धनको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यो निर्वाचन नेपालको इतिहासमा विशेष महत्व राख्ने निर्वाचनको रूपमा रहने बताएका हुन् । ‘यसपटकको निर्वाचन सामान्य हुने छैन, यो निर्वाचन नेपालको इतिहासमा विशेष महत्व राख्नेछ । यो निर्वाचनको सामान्य रहेने छैन’ –उनले भने । संविधान सभाबाट संविधान बनेपछि र त्यो संविधानअनुसारको सरकार बनेपछि अब स्थायित्व र विकासको यात्रातिर नेपाल लाग्नेछ भन्ने सोचे पनि घटनाक्रम त्यसरी विकसित नभएको अध्यक्ष दाहालको भनाइ थियो ।
नेकपा एमालेलाई नैतिक दृष्टिकोणले भोट माग्ने अधिकार नभएको उनले बताए । ‘आफू बस्ने संसद् विघटन गर्ने, पार्टी विभाजन गर्ने र अधिकार खोस्नेलाई के भनेर भोट दिने, संविधान च्यात्नका लागि मत चाहियो भनेर प्रश्न गर्नुपर्ने बेला आएको छ’– उनले भने । नेपाललाई नयाँ युगमा लैजाने संकल्पका साथ गठबन्धन निर्माण भएको उनले बताए । आर्थिक समृद्धिको नयाँ यात्रा शुरू गर्ने लक्ष्यमा वर्तमान गठबन्धन रहेको उनको प्रस्ट्याइ छ ।
नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएर नयाँ इतिहास रच्ने उनले दाबी गरे । ‘तनहुँवासीले नेता पौडेललाई बहुमतले जिताएर पठाए तनहुँले यस निर्वाचनपछि प्रधानमन्त्री पाउने पक्का रहेको छ । तनहुँले प्रधानमन्त्री पाएपछि छिमेकी जिल्लाको समेत उल्लेखनीय रूपमा विकास हुने विश्वास गर्न सकिन्छ,’ दाहालले भने– ‘पौडेललाई धेरै मत दिएर जिताउनुस् ।’
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।