काठमाडौं, असोज ६- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पाँचवटा रिट दर्ता भएका छन् ।
अधिवक्ता सागर बराल, अधिवक्ता सुनीलरन्जन सिंह, मोरङका देव शर्मालगायतले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेकाे सर्वोच्चका प्रवक्ता विमल पौडलले जानकारी दिए । ‘मुख्यतः नागरिकता विधेयक प्रमाणीकरणको माग गरेर रिटहरू आएका छन्। शुक्रबारलाई पेसी तोकिएको छ,’ प्रवक्ता पौडेलले भने ।
निवदेकहरूले राष्ट्रपति भण्डारीबाट नेपालको संविधानको धारा ११३ (४)बमोजिम संवैधानिक दायित्व उल्लंघन भएकाले राष्ट्रपति कार्यालयका नाममा परमादेश माग गरेका छन् ।
संघीय संसद्का दुवै सभाबाट दोस्रोपटक आएको विधेयक १५ दिनभित्र पारित गर्नुपर्ने संवैधानिक व्यवस्थाविपरीत राष्ट्रपति भण्डारीले ४ असोजभित्र प्रमाणीकरण गरिसक्नुपर्ने नागरिकता विधेयक गैरसंवैधानिक भन्दै अस्वीकृत गरेकी छिन् । सत्तागठबन्धनले यसलाई संसद्को अपमान र संविधानको घोर उल्लंघन भन्दै कानुनी लडाइँ लड्ने निर्णय गरिसकेको छ ।