काठमाडौं, असोज ४- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ को गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका सर्लाहीका व्यवसायीको मृत्यु भएको छ ।
सर्लाहीका व्यवसायी लाल मोहम्मदको गोली प्रहारबाट मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
मोहम्मदको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
सोमबार साँझ ६ बजे नगरपालिकाको वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले लाल मोहम्मद भन्ने मोहम्मद दर्जीमाथि गोली हानेका थिए । उनको शरीरमा ४ राउन्ड गोली प्रहार भएको प्रहरी जनाएको छ । घटनास्थलबाट प्रहरीले एउटा पेस्तोल पनि बरामद गरेको छ ।
मृतक गार्मेन्ट व्यवसायी भएको पुष्टि भएको छ । सर्लाहीको हरिवन घर भएका उनले गोठाटारमै एभेन्जर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ । उनी कागेश्वरी बस्दै आएको र त्यही व्यवसाय गर्ने गरेको खुलेको छ । रातो रंगको सर्ट लगाएर पल्सर मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भागेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोहम्मद बा ६ च ५१५२ नम्बरको गाडीमा सवार थिए । उनलाई फलो गर्दै मोटरसाइकलमा आएका दुई जनाले गाडीबाट झरेर गार्मेन्ट (निवास पनि सोही स्थान) तर्फ जाने क्रममा एक्कासि गोली प्रहार गरेका थिए । गाडी उनका चालकले चलाएको बताइएको छ ।
काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।